लक डाउनमा आर्युबेद हाउसमा सिलबन्दी

भक्तपुर, चैत्र २८ गते
अनुमति विना सामान उत्पादन गरेको भन्दै लक डाउनको बेला पनि परेली आर्युबेद हाउस बालकोट सिलबन्दीमा परेकोे छ । सूर्यविनायक नगरपालिका वडा न.३ बालकोट स्थित “परेली आर्युबेद हाउस” ले अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिजबस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्यहरु गरी अनाधिकृत रुपमा सामानहरु बिक्री बितरण गरी रहेको आरोपमा प्रहरीले सो उद्योगमा सिलबन्दी गरेको हो । औषधि ब्यवस्था विभाग बिजुलीबजार काठमाण्डौका फार्मेसी अधिकृत धनबहादुर बोहोरा, महानगरीय प्रहरी परिसर भक्तुरका प्र.नि. कृष्ण प्र.बिष्टको प्रहरी अनुसन्धान अधिकृतको टोली सहितले बिहिवार सो हाउसको नियमन गर्दा अनियमितता पाएपछि सिलबन्दी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्र.ना.उ. दिपक गिरीले जनाएको छ । सो अभियोगमा उद्योगका सञ्चालिका जिल्ला काभ्रेपलाञ्चोक साबिक बाङथली ९ स्थायी घर भएकी बर्ष ३६ की कमला उप्रेती (अर्याल)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

“परेली आर्युबेद हाउस” ले घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा उद्योग दर्ता गर्दा हर्बल जन्य बस्तु उत्पादन गर्ने उदेश्य राखेको भएपनि अनाधिकृत रुपमा साबुन, बिभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसन लगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेवलिङ लगायतका कार्यहरु समेत गरेको पाईए पछि अनुगमण टोलीले कानूनको रीत पुर्याई स्थानीय जनप्रतिनिधीहरुको रोहबरमा परेली आर्युबेद हाउसको उत्पादन, प्याकिङ लेवलिङ साथै स्टोर गरेको कोठाहरु र मुख्य प्रवेशद्वार समेतमा सिलबन्दी गरी सम्बन्धित बिभाग र निकायहरुसंग समन्वय गरी थप अनुसन्धान कार्य थालिरहेको प्रहरीले जनाएको छ ।