पार्टी प्यालेसहरु छिर्दा भक्तपुरको अनुभूति हुनुपर्नेमा जोड
भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिका वातावरण समितिको आयोजनमा पार्टी प्यालेस र भ्वय् छेँ व्यवस्थापन समितिका प्रतिनिधिहरुसंग छलफल कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सभाकक्षमा शुक्रबार सम्पन्न भयो ।
प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यवसाय संचालन गर्दा शुद्ध नाफाको रुपमा काम गरे सम्मानपूर्वक ब्यापार गर्न सक्ने बताउनुभयो । उहाँले भक्तपुर नगरमा शिक्षा स्वास्थ्य अवलोकन गर्न पर्यटकहरु बढिरहेको पार्टी प्यालेस पनि अध्ययन अवलोकन गर्न आउने गरी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भक्तपुरलाई सुक्ष्म तरिकाले विभिन्न निकायहरुबाट अध्ययन गरेपछि मात्र भक्तपुर राम्रो भनेर विभिन्न पत्रपत्रिकामा आएको बताउँदै गोप्य ढंगबाट अध्ययन गरिरहने भएकोले सबै पार्टी प्यालेसहरुले फोहरमैला व्यवस्थापन, ध्वनी प्रदुषण, शुद्ध खाना, चिटिक्क आकर्षण र हेर्न लायकको बनाई आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् नहोस् भन्नेमा सचेत रहनुपर्ने बताउनुभयो । उहाँले जनताको लागि सरसफाइ बन्दोबस्त, आर्थिक स्तर बृद्धि, मानिसको जीवनस्तर उच्चस्तरको बनाउन व्यवहार राम्रो गरी पार्टी प्यालेसहरु छिर्दा भक्तपुरको अनुभूति हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी प्यालेसहरुको फोहर कुहिने र नकुहिने छुट्याएर भक्तपुरको मोडेल अनुसार मल बनाउनेमा सहयोग हुनुको साथै स्थानीय मौलिक बाजागाजा र गीतसंगित प्रर्बद्धन हुने गरी धिमेय्, बासुरी, नेवारी लोकगीतबाट मनोरञ्जन दिन सके पश्चिमेली झिलिमिलिबाट बचाई समाजलाई राम्रो बाटोमा लान सक्ने बताउनुभयो । उहाँले ख्वप अस्पताल लगायत विभिन्न सानो सानो गुनासोहरु प्रति सचेत भई सुधार गरी कुनियतका साथ गरेको आलोचना विरोधको लागि विरोध मात्रै हो भन्दै जनतालाई रोजगारी सृजना हुने गरी विभिन्न विकास निर्माणहरु गरिरहेको समेत बताउनुभयो ।
कार्यक्रममा वातावारण समितिका संयोजक रबिन्द्र ज्याख्वले हरेक भोजको गतिविधि घरमा नगरी पार्टीप्यालेसहरुमा सर्दै गएको बताउँदै पार्टी प्यालेसले हरियाली र बगैंचा, पार्किङ्ग, फोटो खिच्ने स्थल, ध्वनी प्रदुषणबाट मुक्त, पार्टी प्यालेस वारपर व्यवस्थापन र सिसि क्यामराको व्यवस्थापनमा संचालन र व्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्वस्थ्थकर भोजन, मिसावट नभएको शुद्ध परिकार, त्यहीं तेलमा धेरै पकाएर खुवाउँदा क्यान्सर र मृगौला लगायतको दीर्घ रोगहरु हुने भएको अनुगमन भएपछि मात्र सुधार गर्ने भन्दा पहिला नै सुधार गरिराख्नु पर्ने बताउनुभयो । उहाँले भोजको फोहर कुकुर, हावाहुरीले उदाउने र दुर्गन्धीत हुने भएकोले व्यवस्थापनका ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वातावरण समितिका सदस्य योगेन्द्रमान विजुक्छेंले मुर्त अमुर्तसम्पदामा भोज अमुर्त सम्पदा भएकोले व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भेलामा सहभागीहरु सिद्धिवीर कर्माचार्य, लक्ष्मीप्रसाद ढुकुछु, रत्नप्रसाद प्रजापति, तुला सितिखु, जितेन्द्र खायमलीले आ–आफ्नो सुझाब दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।














