२७ मंसीर, केके मानन्धर
नेपालभाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनको विषयमा सरोकारवाला पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय नेपालभाषा बोल्नेको संख्या न्यून भएसँगै साहित्यमा परेको प्रभावप्रति साहित्यकारहरुले चासो दिएका हुन् ।
काठमाडौंमा भएको कार्यक्रममा साहित्यकार बसन्त महर्जनले नेपालभाषाको साहित्य विकास गर्न आन्तरिक छलफल र अन्तक्र्रिया आवश्यक रहेको बताए । ‘खास गरी खस नेपाली र नेपालभाषाका पुस्तक ५०० प्रति प्रकाशित हुँदै आएका छन् । तर हाम्रो साहित्य बिक्री गर्न गाह्रो छ ।’ साहित्यकार महर्जनले बताए । साहित्य विकास गर्न भाषा प्रयोग गर्नेको संख्या बढाएर गुणस्तरमा ध्यान दिनुपर्ने उहाँले तर्क राखे ।
कार्यक्रममा साहित्यकार राजुराम मुनकर्मीले गजल साहित्यको छन्द, मात्रादेखि अन्य प्राविधिक पक्षको विषयमा चर्चा गरे । उहाँले आफ्नै रचनाको गजल समेत वाचन गरेका थिए ।
त्यस्तै नेपालभाषा सफू सहकारीका अध्यक्ष हरिप्रसाद श्रेष्ठले सहकारीमार्फत नेपालभाषाको साहित्य विकास गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले सहकारीमार्फत साहित्य क्षेत्रमा रुचि राख्ने महानुभावलाई सदस्य बनाएर पुस्तक वितरण, विमोचन, प्रकाशन तथा अन्य तबरले सहकार्य गर्दै आएको बताए । हुन पनि साहित्यप्रति रुचि बढाउन र विकास गर्न केहि वर्ष यतादेखि नेपालभाषा सफू बहुउद्देश्यीय सहकारी संस्थाले अभियानै चलाएको छ ।
यःमरी पुर्णिमाको दिन बसन्तपुरमा आयोजित कार्यक्रममा लेखक धर्म महर्जनको गजल संग्रह विमोचन गरिएको छ । नेपालभाषा साहित्यको ‘धर्म पासाया गजल गंगा’ पुस्तकमा ३० वटा गजल संलग्न छन् । लेखक महर्जनले यसअघि बिदाई कविता संग्रह, मनका तरङ्ग मुक्तक संग्रह, मनमैजु दर्पण, बुद्धकालीन कथा र परित्राण, मनमैजुको उत्पत्ति तथा अन्य नेपालीभाषाका साहित्य रचना गरेका छन् ।














