भक्तपुरमा सक्रिय संक्रमित ५३४, आज एक्कै दिन देशभरबाट १८१८ कोरोनामुक्त
भक्तपुर, भाद्र २५ गते
बिहिबार एक्कै दिन १ हजार ८१८ जना कोरोना संक्रमित मुक्त हुँदा थप १हजार २४६ जना संक्रमित भएका छन् । यसरी संक्रमण पुष्टि भएकाहरु मध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५७२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाण्डौका ४९५, ललितपुरका ४३ र भक्तपुरका ३३ जना थप संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितहरु मध्ये अहिलेसम्म ३५ हजार ७०० जना कोरोना मुक्त भइ सकेको हुनाले अहिले सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ मात्र रहेका छन् । संक्रमण मुक्त हुने प्रतिशत ७१ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर परिक्षण गर्दा १,२४६मा कोरोना पोजेटिभ आएको प्रवक्ता डा. गौतमले जनाएको छ । बिहिबार काठमाण्डौका ३ जना सहित थप ५ जना संक्रमितको मृत्यु हुँदा देशभर मृतकको संख्या ३१७ पुगेको छ । ८ हजार ११० जना अहिले संस्थागत आइसोलेशनमा छन भने ६ हजार ४३८ जना होम आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा ५ हजार ८०६ जना, आइस्यूमा १६५ जना र भेन्टिलेटरमा २१ जना रहेका छन् ।

भक्तपुरमा बिहिबार ३३ जना नयाँ संक्रमित भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । बिहिबार थपिएका संक्रमितहरु भक्तपुर नगरपालिकाका ३ महिला र ६ पुरुष सहित ९ जना, मध्यपुर थिमी नगरपालिकाका ७ महिला र ९ पुरुष सहित १६ जना, सूर्यविनायक नगरपालिकामा ३ महिला र ४ पुरुष सहित ७ जना र चाँगुनारायण नगरपालिकाका १ पुरुष सहित ३३ जना रहेको कार्यालय प्रमुख कृष्ण मिजारले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ८५६ पुगेको छ । संक्रमितहरु मध्ये ८१ महिला र २२९ पुरुष गरी ३१० संक्रमित कोरोना मुक्त समेत भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ५३४ रहेका छन् ।













