दुवाकोटकी ३५ वर्षीय महिलामा कोरना संक्रमण, टोल नै सिल गर्न आग्रह
भक्तपुर, असार १६ गते
दुवाकोट भक्तपुर डेरा गरी बस्ने ३५ वर्षकी एक महिलामा कोरना संक्रमण पुष्टि भएपछि उनी बस्दै आएको घरलाई प्रहरीले सिल गरेको छ । केएमसी अस्पताल जाने दुवाकोट चोकमै डेरा गरी बस्ने ती महिला भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी रहेको पनि खुलेको छ । सो अस्पतालमा आईतबार उपचारका लागि आएका काभ्रेका एक १२ वर्षीय बालिकामा पोजेटिभ देखिएपछि उनको उपचारमा संलग्न रहेका १८ जना कर्मचारी एवं स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा राखिएको अस्पतालका व्यवस्थापक राजाराम तजलेले जनाएको थियो । तिनै क्वारेन्टिनमा रहेका मध्ये आज १३ जनाको स्वाब परीक्षणको नतिजा आएको जनाउँदै त्यस मध्ये एक जनाको पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्यविद् कृष्ण मिजारले जनाउनु भएको छ । संक्रमित महिलालाई थप उपचारको लागि आजै टेकुस्थित सरुवा रोग अस्पतालमा लगिएको पनि उहाँले जनाउनु भयो । संक्रमित महिला बाहिरबाट आएको नभई भक्तपुर क्यान्सर अस्पतालमै कार्यरत रहेकाले उनको कन्ट्याक टेसिंग कार्य हुने भन्दै सिलमा परेका घर परिवार एवं डेरामा रहेका समुदायको पनि केही दिन पछि स्वाब परिक्षण गर्ने गरी सो घरलाई प्रहरीले सिल गरेको उहाँले बताउनु भयो । कोरना पोजेटिभ देखिएपछि भक्तपुर क्यान्सर अस्पतालका थप ३० जना कर्मचारीको स्वाब संकलन कार्य पनि भएको कार्यालय प्रमुख मिजारले जनाउनु भयो ।
दुवाकोट चोकमा कोरना संक्रमण देखिएपछि स्थानीय बडाध्यक्ष शिवहरी केसीले संभावित संक्रमितहरुको खोजी गरी डेरामा सिल गरेको उल्लेख गर्दै जोखिम व्यवस्थापनकालागि सचेतनामूलक कार्यमा ब्यस्त रहेको बताउनुु भयो भने स्थानीय विजय सिग्डेलले आफ्नो ठाउँमा कोरना संक्रमित पुष्टि भएपछि स्थानीय समुदाय त्रसिड बनेको भन्दै टोल नै सिल गर्न आग्रह गरेका छन् । टोलमा सबैले चिनेका व्यक्तिमा नै कोरना संक्रमित भएपछि टोलबासीमा सर्न सक्ने भन्दै स्थानीयबासीहरुलाई सचेतना दिन्दै कडाइका साथ सिल गर्न आग्रह गरिएको छ ।













