बाल संवेदनशील पत्रकारिता प्रवर्द्धन गर्न दुई दिने आवासीय तालिम सम्पन्न
ललितपुर, बालबालिकाको अधिकार, संरक्षण तथा बाल संवेदनशील पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चारकर्मीहरूका लागि आयोजित दुई दिने आवासीय तालिम आज ललितपुरको गोदावरीमा सम्पन्न भएको छ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)/सामुदायिक सूचना नेटवर्क (सीआईएन) र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा तालिम आयोजना गरिएको हो। अन्तर्राष्ट्रिय बाल दिवस (२० नोभेम्बर), बालविवाह तथा बालकालीन जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (२७ नोभेम्बर) र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
तालिममा बालमैत्री पत्रकारितामा चुकेका सामग्रीहरूको समीक्षा गर्दै बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव नपर्ने गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइएको छ। समाचारलाई ‘बिकाउ’ र ‘भाइरल’ बनाउनेभन्दा पनि पीडित बालबालिका र तिनको परिवारलाई न्याय दिलाउने तथा पीडकलाई कानुनी दायरामा ल्याउने गरी सकारात्मक पत्रकारिता गर्नुपर्ने निष्कर्ष निकालिएको छ।
विशेषगरी बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटनाको रिपोर्टिङ गर्दा पीडितको व्यक्तिगत तस्बिर, नाम, ठेगाना तथा पारिवारिक विवरणलगायत पहिचान खुल्ने कुनै पनि जानकारी सार्वजनिक नगर्ने प्रतिबद्धतासमेत सहभागीहरूले जनाएका छन्। तालिममा सहभागी विभिन्न सञ्चार माध्यमका दुई दर्जन पत्रकारहरूबीच बाल संवेदनशील पत्रकारितालाई निरन्तर प्रवर्द्धन गर्न १३ सदस्यीय एक समितिसमेत गठन गरिएको छ।
तालिममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले ‘पत्रकारिता र बाल संवेदनशीलता’ विषयमा प्रशिक्षण दिँदै रिपोर्टिङका क्रममा गोपनीयता कायम राखी बालबालिकालाई थप मानसिक आघात (ट्रमा) बाट जोगाउनु पत्रकारको मुख्य दायित्व भएको बताउनुभयो। उहाँले समाचार लेख्दा र दृश्य खिच्दा ध्यान दिनुपर्ने प्राविधिक तथा नैतिक पक्षबारे सामूहिक छलफल गराउनुभएको थियो।
यसैगरी, वरिष्ठ पत्रकार बबिता बस्नेतले बालिका र किशोरीका सवालमा लैङ्गिक उत्तरदायी पत्रकारिता तथा सिजपका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा बालबालिकाको वर्तमान अवस्था र उजागर गर्नुपर्ने सवालहरूका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सामुदायिक सूचना नेटवर्क (सीआईएन) का निल प्रकाश र कान्तिपुरका विजय पौडेलले बालबालिकासम्बन्धी रिपोर्टिङका आ-आफ्ना अनुभव सुनाउनुभएको थियो भने सीआईएनका प्रमुख दीपक आचार्यले सहजीकरण गर्नुभएको थियो।
तालिमको अन्त्यमा आयोजकका तर्फबाट सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।












