महालक्ष्मी–कमलविनायक सडकमा पीच तथा ढल व्यवस्थापनको काम अघि बढ्दै
भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. १० अन्तर्गत महालक्ष्मी–कमलविनायक तथा नगरकोट सडक खण्डमा सडक कालोपत्रे र ढल व्यवस्थापनको काम अघि बढेको छ। सडक स्तरोन्नति तथा ढल निकासको समस्या समाधानका लागि विभिन्न योजनामार्फत निर्माण कार्य सुरु गरिएको हो।
डिभिजन सडक कार्यालयको ३५ लाख रुपैयाँको ठेक्कामार्फत सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ भने भक्तपुर नगरपालिका वडा नं. १० को १० लाख रुपैयाँ बजेटबाट ढल व्यवस्थापनको काम गरिने भएको छ।
वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाका अनुसार डिभिजन सडक कार्यालयले सडक कालोपत्रे गर्ने र वडा कार्यालयले ढल व्यवस्थापनका लागि बजेट खर्च गर्ने व्यवस्था मिलाएको हो।
त्यसैगरी, नगरकोट सडक खण्डमा वडा कार्यालयको पहलमा वडा बजेटबाट ढल निकासको व्यवस्था नभएको स्थानमा ८५ मिटर ढल निर्माण गरिने भएको छ। उक्त सडक खण्डको बाँकी ३४० मिटर सडक कालोपत्रे गर्ने कार्य डिभिजन सडक कार्यालयमार्फत भइरहेको जानकारी प्राप्त भएको छ।
सडक कालोपत्रे तथा ढल व्यवस्थापनको काम सम्पन्न भएपछि स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको सडक तथा ढल निकाससम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ। सडक स्तरोन्नतिले स्थानीयको आवागमन सहज बनाउनुका साथै क्षेत्रको पूर्वाधार विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।














