रसुवा-भोटेकोशी बाढी: अर्थतन्त्रमा पौने ५ खर्बको क्षति, पुनर्निर्माणका लागि ७ खर्बभन्दा बढी बजेट आवश्यक

रसुवा-भोटेकोशी बाढी: अर्थतन्त्रमा पौने ५ खर्बको क्षति, पुनर्निर्माणका लागि ७ खर्बभन्दा बढी बजेट आवश्यक

जनसञ्चार डेस्क

काठमाडौँ/भक्तपुर, २० कात्तिक

गत भदौ १० गते नेपाल-चीन सीमा क्षेत्रस्थित रसुवा-भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढी (Flash Flood) ले मुलुकको अर्थतन्त्रमा पौने ५ खर्ब रुपैयाँ बराबरको गम्भीर क्षति पुर्‍याएको छ। राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको ‘विपद् पछिको आवश्यकता मूल्याङ्कन’ (PDNA) को प्रारम्भिक प्रतिवेदन अनुसार बाढीका कारण कुल ४ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ बराबरको हानी तथा नोक्सानी भएको हो।

आयोगका अनुसार क्षति पुगेका सार्वजनिक तथा निजी भौतिक संरचनाहरूको पुनर्निर्माण र प्रभावित क्षेत्रको पुनरुत्थान गर्न कुल ७ खर्ब ६ अर्ब ६५ करोड रुपैयाँ वित्तीय आवश्यकता पर्ने अनुमान गरिएको छ।

१,४६४ जनाको मृत्यु, ५,२८५ अझै बेपत्ता

बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो मानवीय क्षति भएको छ। प्रतिवेदन अनुसार विपद्मा परी हालसम्म १,४६४ जनाको दुःखद निधन भएको छ भने ५,२८५ जना नागरिक अझै बेपत्ता रहेका छन्। विपद् लगत्तै सुरक्षा निकाय तथा स्थानीयको सक्रियतामा १३,७९५ जनाको सकुशल उद्धार गरिएको भए पनि हजारौँ परिवार घरविहीन भई विस्थापित जीवन बिताउन बाध्य छन्।

कुन क्षेत्रमा कति क्षति? (तालिका)

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरण अनुसार हानी, नोक्सानी र आवश्यक पुनर्निर्माण बजेटको क्षेत्रगत वर्गीकरण निम्न अनुसार छ:

क्षेत्रहानी (Damage)नोक्सानी (Loss)कुल हानी-नोक्सानीपुनर्निर्माण/पुनरुत्थान बजेट आवश्यकता
पूर्वाधार क्षेत्र (ऊर्जा, सडक, पुल, खानेपानी आदि)रु. १ खर्ब २७ अर्ब १४ करोडरु. ४६ अर्ब ८६ करोडरु. १ खर्ब ७४ अर्बरु. ३ खर्ब ८२ अर्ब ८३ करोड
उत्पादनशील क्षेत्र (कृषि, उद्योग, पर्यटन, व्यापार)रु. ४१ अर्ब ३५ करोडरु. ९५ अर्ब ४१ करोडरु. १ खर्ब ३६ अर्ब ७७ करोडरु. १ खर्ब ४५ अर्ब ७७ करोड
जलवायु तथा वातावरण क्षेत्र (भूमि, वन, DRR)रु. ७७ अर्ब ११ करोडरु. ४४ अर्ब ५७ करोडरु. १ खर्ब २१ अर्ब ६८ करोडरु. ९४ अर्ब ४३ करोड
सामाजिक क्षेत्र (आवास, शिक्षा, स्वास्थ्य, सम्पदा)रु. ३७ अर्ब २ करोडरु. १ अर्ब ९८ करोडरु. ३९ अर्बरु. ५७ अर्ब ७७ करोड
शासकीय तथा अन्तरसम्बन्धित क्षेत्र––रु. १ अर्ब १९ करोडरु. २५ अर्ब ८३ करोड
कुल जम्मारु. २ खर्ब ८२ अर्ब ९० करोडरु. १ खर्ब ८९ अर्ब ७६ करोडरु. ४ खर्ब ७२ अर्ब ६६ करोडरु. ७ खर्ब ६ अर्ब ६५ करोड

आर्थिक वृद्धिमा धक्का, गरिबी २.७ प्रतिशतले बढ्ने

उत्तर-दक्षिण व्यापारिक कोरिडोर तथा नेपाल-चीन व्यापारको मुख्य प्रवेशद्वारका रूपमा रहेको यस क्षेत्रमा बाढीले पूर्वाधार र उत्पादनका साधन नष्ट गरेपछि राष्ट्रिय अर्थतन्त्रमै धक्का पुगेको छ। बाढीका कारण चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर करिब १ प्रतिशत बिन्दुले घट्ने आयोगको आकलन छ।

त्यसैगरी प्रभावित १५ वटा स्थानीय तहमा उपभोगमा आधारित गरिबीको दर २.७ प्रतिशत बिन्दुले बढेर १२.२ प्रतिशतबाट १४.९ प्रतिशत पुगेको छ।

कसरी गरियो मूल्याङ्कन?

नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार योजना आयोगले ५ बाढी प्रभावित जिल्लाका १५ स्थानीय तहमा १५६ जना विशेषज्ञ जनशक्ति परिचालन गरी दुई हप्तासम्म डिजिटल माध्यमबाट ‘घरपरिवार तथा प्रतिष्ठान सर्वेक्षण’ सञ्चालन गरेको थियो। प्रतिवेदनमा पुनर्निर्माण गर्दा विपद् जोखिम न्यूनीकरणका उपायसहित ‘Build Back Better’ (BBB) अर्थात् ‘पहिलाभन्दा उत्कृष्ट र उत्थानशील निर्माण’ को अवधारणा अवलम्बन गरिने उल्लेख छ।