भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग

भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
भक्तपुर । भक्तपुरमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै तीन पत्रकार संगठनले आपत्ति जनाएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति भक्तपुरका सदस्यसहितका पत्रकारमाथि सूर्यविनायक नगरपालिका–९ स्थित जग्गा विवादसम्बन्धी समाचार संकलनका क्रममा दुर्व्यवहार भएको भन्दै संगठनहरूले घटनाको निन्दा गरेका हुन्।
संयुक्त प्रेस विज्ञप्तिमार्फत स्वतन्त्र पत्रकार संघ भक्तपुर, प्रेस सेन्टर नेपाल भक्तपुर तथा जनपत्रकार संगठन नेपालले पत्रकारमाथि भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।


विज्ञप्तिअनुसार, कात्तिक १ गते आइतबार सूर्यविनायक नगरपालिका–९ स्थित जग्गाको सिमाना विवाद तथा नक्सापास नगरी भौतिक संरचना निर्माण गरिएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि घटनास्थलमै दुर्व्यवहार भएको र त्यसपछि पनि पत्रकारलाई निरन्तर धम्क्याउने तथा हतोत्साहित गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ।
पत्रकार संगठनहरूले समाचार संकलनका क्रममा पत्रकारमाथि हुने गालीगलौज र दुर्व्यवहार तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरेका छन्। साथै, घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
समाचारको विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने वैधानिक व्यवस्था रहेको उल्लेख गर्दै संगठनहरूले पत्रकारमाथि दबाब र दुर्व्यवहार गर्नुको सट्टा कानुनी प्रक्रियाको अवलम्बन गर्न आग्रह गरेका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव विक्रम तजले, प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष मदन दुलाल तथा जनपत्रकार संगठन नेपालकी अध्यक्ष पुष्पा कुमारी साउदले हस्ताक्षर गरेका छन्।