सल्लाघारीमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ सुरु: संस्कृति, व्यापार र मनोरञ्जनको सङ्गम

सल्लाघारीमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ सुरु: संस्कृति, व्यापार र मनोरञ्जनको सङ्गम

भक्तपुर। कला, संस्कृति र ऐतिहासिक सम्पदाको सहर भक्तपुरस्थित सल्लाघारीको खुला मैदानमा आज असोज २२ गतेदेखि ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ भव्य रूपमा सुरु भएको छ। औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित यो विशेष सांस्कृतिक तथा व्यापारिक मेला असोज ३० गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवको औपचारिक उद्घाटन बागमती प्रदेश सरकारका मन्त्री ज्ञानबहादुर तामाङले दीप प्रज्वलन गरी गर्नुभयो। सो अवसरमा बोल्दै मन्त्री तामाङले यस्ता स्थानीय मेला-महोत्सवले स्वदेशी उद्योग, घरेलु उत्पादनको बजारीकरण र स्थानीय कला-संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

समारोहमा वरिष्ठ चलचित्र निर्देशक तथा संगीतकार मदन घिमिरे, राष्ट्रिय गायक कपिल कस्पाल, प्रादेशिक योग समिति (बागमती स्वास्थ्य मन्त्रालय) का विज्ञ सदस्य डा. नवराज काफ्ले, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, स्वतन्त्र पत्रकार संघ भक्तपुरकी अध्यक्ष रेनु त्वाईना बासु, नेपाल टेलिभिजनका संवाददाता अञ्जिर सिंह विक, सिजी मोटर्स/हिरो बाइकका प्रतिनिधि सुलभ प्रधान, आदर्श सितोरियो कराटे डोजोका निर्देशक सुजल प्रधान, Xterm तथा म्याक्स टाइगरका प्रतिनिधि युनिस तुलाधर, स्पाइनल क्षेत्र परोपकार समाजकी प्रतिनिधि ज्ञानकी छेका र बाल उद्यान व्यवस्थापन संयोजक राजेश अधिकारी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विन्दास इन्द्रले गर्नुभएको थियो।

महोत्सवमा दशैँका लागि आवश्यक दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, हस्तकलाका सामग्री तथा स्थानीय उत्पादनहरू एउटै थलोबाट खरिद गर्ने व्यवस्था मिलाइएको छ। साथै, भक्तपुरको मौलिक इतिहास, संस्कृति र सम्पदा झल्काउने सांस्कृतिक झाँकी, फुड स्टल तथा बालबालिकाका लागि बाल उद्यान मुख्य आकर्षणका रूपमा रहेका छन्। आयोजक संस्थाका अध्यक्ष युवराज पराजुलीका अनुसार महोत्सवले चाडपर्वको माहौललाई थप रमाइलो बनाउनुका साथै स्थानीय व्यापारलाई चलायमान बनाउने लक्ष्य राखिएको छ।