पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान
भक्तपुर। जग्गा दलालहरूले हकवालाको मञ्जुरीबिनै बेचबिखन गरेको जग्गा पत्रकारहरूको निरन्तर पहल र सहजीकरणपछि मध्यपुर थिमीका मगर परिवारले पुनः प्राप्ति गर्न सफल भएका छन्। आफ्नो भूमि फिर्ता पाएपछि खुसी बनेको मगर परिवारले मंगलबार (आज) सहयोग पुर्याउने सञ्चारकर्मीहरूलाई खादा ओढाएर सम्मान व्यक्त गरेको छ।

जग्गा प्लटिङको नाममा हकवालाहरूको कुनै पनि स्वीकृतिविना दलालहरूले अरूलाई नै जग्गा बेचबिखन गरिदिँदा मगर परिवार विगत १४ महिनादेखि न्यायको पर्खाइमा थियो। मालपोत कार्यालय भक्तपुरबाट समेत न्याय पाउन नसकेको अवस्थामा भक्तपुरका पत्रकारहरू प्रेमध्वज लामा, कृष्ण किसी, दिपेन्द्र श्रेष्ठ र सुरेश सैंजूले उक्त अन्यायविरुद्ध निस्वार्थ रूपमा आवाज उठाएका थिए।
सम्मान कार्यक्रममा बोल्दै पीडित मगर परिवारले पत्रकारहरूले आफ्नो समस्यालाई उजागर गरिदिएकै कारण जग्गा पुनः प्राप्ति सम्भव भएको बताए। सो क्रममा उहाँहरूले अन्यायविरुद्ध बोलिदिँदा पत्रकारहरूमाथि रू. ४० हजार खाएर समाचार लेखेको भन्दै लगाइएको असत्य आरोपप्रति दुःखरूचि प्रकट गर्दै सञ्चारकर्मीहरूको निस्वार्थ सहयोगको उच्च प्रशंसा गर्नुभयो।
अन्यायमा परेका सर्वसाधारणलाई न्याय दिलाउन सञ्चार क्षेत्रले खेलेको यस भूमिकाप्रति मगर परिवारले सम्पूर्ण सहयोगी पत्रकारहरूलाई धन्यवाद दिँदै सम्मान पत्र तथा खादाद्वारा सम्मान गरेको हो।















