चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति
भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीस्थित ऐतिहासिक तथा धार्मिक माझी भैरव मन्दिर परिसरमा आज क्षमा पूजा सम्पन्न भएको छ। मन्दिर परिसरको मर्मत सम्भार तथा जिर्णोद्धारको कार्य पूरा भएपछि स्थानीय समुदायको सहभागितामा उक्त क्षमा पूजा आयोजना गरिएको हो।
विभिन्न निकायको आर्थिक तथा भौतिक सहयोगमा मन्दिर संरक्षण र भोज गृह निर्माणलगायतका कार्यहरू सम्पन्न भए पनि नगरपालिकाको तर्फबाट हुनुपर्ने सहयोग र प्रतिबद्धता भने पुरा नभएको भन्दै स्थानीयवासी र वडा नेतृत्वले असन्तुष्टि व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै चाँगुनारायण वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले मन्दिर परिसरमै आएर नगरपालिकाका प्रमुख तथा उपप्रमुखले सो क्षेत्रको विकास र संरक्षणका लागि पटक-पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै कडा आपत्ति जनाउनुभयो। नगर नेतृत्वको यस्तो उपेक्षाका कारण स्थानीय जनतामाझ असन्तुष्टि बढेको उहाँको भनाइ थियो।


वडाध्यक्ष त्यतका अनुसार नगरपालिकाको बजेट र योजना छनोट प्रणालीमा समेत विभेदपूर्ण नीति देखिएको छ:
- बजेट कार्यान्वयनमा दोहोरो मापदण्ड: वडालाई दिइने २ करोडको बजेट सिलिङमा प्रति कार्यक्रम १ करोड रुपैयाँभन्दा कमको योजना कार्यान्वयन गर्न नपाइने नियम लगाइए पनि नगरपालिका स्वयंले भने १-२ लाख रुपैयाँसम्मका खुद्रा योजनाहरू बाँड्ने गरेको छ।
- पुल निर्माणमा ढिलासुस्ती: माझी भैरव क्षेत्रमा आवतजावतका लागि अत्यावश्यक मानिएको पुल निर्माण नहुँदा भक्तजन तथा स्थानीयवासीलाई समस्या परेको छ। यस विषयमा पटक-पटक ताकेता गर्दासमेत नगरपालिकाले कुनै चासो नदेखाएको वडाध्यक्षले बताउनुभयो।
- वित्तीय अपारदर्शिता: नगरपालिकाभित्रको आर्थिक गतिविधि अपारदर्शी र अनियमित हुने गरेको कुरा स्वयं सम्बन्धित कर्मचारीहरूबाटै बाहिरिनु गम्भीर र आपत्तिजनक विषय भएको उहाँले उल्लेख गर्नुभयो।
नगरपालिकाबाट अपेक्षित सहयोग नपाए पनि स्थानीय जनअपेक्षाअनुसार उपलब्ध सीमित स्रोत-साधनलाई नै परिचालन गर्दै ताथलीको विकास निर्माण र धार्मिक स्थलहरूको संरक्षणमा निरन्तर लागिपर्ने प्रतिबद्धता वडाध्यक्ष त्यतले व्यक्त गर्नुभएको छ।














