गुठी मार्फत बौद्ध स्टुपाको व्यवस्थापन सुरु, भ्रममा नपर्न आग्रह (पत्रकार सम्मेलन)

गुठी मार्फत बौद्ध स्टुपाको व्यवस्थापन सुरु, भ्रममा नपर्न आग्रह (पत्रकार सम्मेलन)

काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचिकृत प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल बौद्ध स्टुपाको नियमित पूजाआजा, पर्व तथा समग्र व्यवस्थापन अब कानुनसम्मत रूपमा गुठी मार्फत सुरु गरिएको छ।

बौद्ध स्टुपा परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थानीय वडाध्यक्ष भूवन लामाले गुठी मार्फत कार्य सम्पादन गर्नु गैरकानुनी नभई स्टुपाको व्यवस्थापनलाई अझ सुदृढ, पारदर्शी र व्यवस्थित बनाउने कदम भएको स्पष्ट पार्नुभयो। उहाँले केही व्यक्तिको व्यक्तिगत तजविजका आधारमा काम गर्नुभन्दा कानुनबमोजिम गठन भएको गुठीका पदाधिकारीहरूको संयुक्त नेतृत्वमा गरिने कार्य बढी प्रभावकारी हुने बताउँदै स्टुपाका विषयमा सम्प्रेषित केही भ्रमपूर्ण समाचारहरूप्रति आपत्ति जनाउनुभयो।

कार्यक्रममा नवगठित श्री बौद्ध तथा मेलम्ची ध्याङ गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्गजीत लामाले स्टुपाभित्रका विभिन्न संघ-संस्थाबिचको असमझदारीका कारण सर्वसाधारणमा केही भ्रम छरिएको उल्लेख गर्नुभयो। धार्मिक तथा सांस्कृतिक रूपले विश्वभर प्रसिद्ध यस पवित्र स्थलका बारेमा भ्रम नफैलाउन उहाँले सबैमा आग्रह गर्नुभयो।

व्यवस्थापनमा सुधार र पारदर्शिता अध्यक्ष लामाका अनुसार गुठी मार्फत व्यवस्थापन सुरु भएसँगै स्टुपामा देहाय बमोजिमका सकारात्मक सुधारहरू भएका छन्:

  • अखण्ड दीपको निरन्तरता: हावाहुरी, वर्षा वा प्रतिकूल मौसममा पनि ननिभ्ने गरी स्टुपाको अखण्ड दीपलाई सदाबहार रूपमा बालिरहने व्यवस्था मिलाइएको छ।
  • कर्मचारीको पारिश्रमिक: गुठी व्यवस्थापन पश्चात् त्यहाँ कार्यरत कर्मचारीहरूले उचित पारिश्रमिक पाउन थालेका छन्।
  • वित्तीय पारदर्शिता: स्टुपामा संकलन हुने आय-व्ययलाई पूर्ण पारदर्शी बनाउँदै दैनिक रूपमा बैंक खातामा जम्मा गर्ने गरिएको छ।
  • पूजा र धार्मिक कार्य: नियमित पूजाआजा तथा अन्य धार्मिक-सांस्कृतिक पर्वहरूलाई थप व्यवस्थित बनाइँदै लगिएको छ।

भूकम्पग्रस्त भवन र सुरक्षाकर्मीको अवस्थाप्रति चिन्ता पत्रकार सम्मेलनका क्रममा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गुम्बाको भवन अझै मर्मत-सम्भार हुन नसकी बेवारिसे अवस्थामा रहेकोमा गम्भीर आपत्ति जनाइयो। इँटा र सिमेन्टले बनेको उक्त भवनका ठाउँ-ठाउँमा गहिरा चिराहरू परेका छन्। सोही जोखिमयुक्त र असुरक्षित भवनमा सुरक्षाकर्मीहरू बस्न बाध्य भइरहेको यथार्थसमेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ।