त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
बाको मुख हेर्ने दिन : आफ्नै संस्कारमा उहाँको दर्शन
बा खुसी हुनुहुन्छ ?
अच्युतकृष्ण शरण
आज बाको मुख हेर्ने दिन ….
धेरै सन्तानले आज बाबुको अनुहार हेर्लान्, मिठाई खुवाउलान्, नयाँ कपडा फेरिदेलान् र खुट्टा ढोगेर आशीर्वाद लेलान् ।
सामाजिक सञ्जालमा बाबुसँगको मुस्कुराउँदो तस्बिर पोस्ट गर्दै प्रेम, सम्मान र कृतज्ञताका शब्दहरू पनि पोखिएलान् ।
तर, यो पर्व मनाउँदै गर्दा आज हामीले आफैसँग एउटा असहज र गम्भीर प्रश्नको जवाफ माग्नुपर्ने समय आएको छ । हामीले बाको अनुहार मात्र हेरिरहेका छौँ ? कि उहाँको जीवन पनि पढिरहेका छौँ ?
के हामीले उहाँका आँखामा कहिल्यै श्रद्धा र भावपुर्वक ध्यान दिएर हेरेका छौँ ?
त्यहाँ हामीलाई पढाउन, बढाउन, हुर्काउन र हाम्रा सपना पूरा गराउन आफ्ना कयौँ सपना र इच्छाको तिलाञ्जली दिँदै बिताएका दशकौँको संघर्ष लुकेको छ । हाम्रो भविष्यका लागि उहाँले बगाएको रगत र पसिना, सहनुभएको अभाव र भोग्नुभएको पीडा छ । के हामीले कहिल्यै यसको महसुस गरेका छौँ ?
हाम्रो सुख र सुरक्षित भविष्यका लागि वषर्षैँ श्रम गर्दा उहाँका हातमा उठेका ठेला र ती हातले बोकेको संघर्षको भार के हामीले कहिल्यै स्पर्श गरेका छौँ ?
उहाँको अनुहारमा उम्रिएका प्रत्येक चाउरीलाई कहिल्यै पढेका छौँ ? आफ्ना सबै प्रयासका बाबजुद हाम्रा कतिपय इच्छा पूरा गर्न नसक्दा उहाँको मनभित्र खुम्चिएका पीडा र अधुरा रहन पुगेका सपनाहरू के हामीले कहिल्यै देखेका छौँ ?
हो, बा धेरै कुरा भन्नुहुन्न ! तर उहाँको मौनताभित्र माया छ, चिन्ता छ, जिम्मेवारी छ, त्याग छ र सन्तानप्रतिको निसर्त समर्पण छ । के हामीले त्यो मौन भाषा बुझ्न सकेका छौँ ?
सँगसँगै के हाम्रो व्यवहारले उहाँलाई सम्मान दिएको छ ? के हाम्रो संस्कारले उहाँको त्यागको मूल्य बुझेको छ ? के हाम्रो कर्तव्यले उहाँको ऋण सम्झिएको छ ? वा हामीले उहाँलाई केवल सम्पत्तिको स्रोत, आवश्यकताको सहारा र आफ्नो सुविधाअनुसार सम्झिने सम्बन्धमा सीमित गरिदिएका छौँ ? भन्ने प्रश्नको जवाफ पनि हामीले आज नै आफैसँग माग्नुपर्छ । र, हरेक उत्तरलाई इमान्दार भएर मन्थन गर्दै बा को मुख हेर्नु पर्छ ।
आज केवल कर्मकाण्डीरुपमा ‘बिरालो बाँधेर श्राद्ध’ गरेजसरी बा को अनुहार हेर्नु भन्दा पहिला हाम्रो कर्म, व्यवहार र संस्कार देखेर उहाँ साँच्चिकै खुसी हुनुहुन्छ ? कि हुनुहुँदैन ? भन्ने कुरा हेर्नु अत्यावश्यक छ ।
किनकि बाको मुख हेर्ने दिनमा उहाँको जीवनभरको त्याग, प्रेम, संघर्ष र मौन प्रार्थनालाई आफ्नै अन्तःकरणमा हेर्न सकेनौँ भने यसको तात्विक अर्थ रहँदैन् ।
किनकी मलाई लाग्छ, पक्कै पनि मिठाई, नयाँ कपडा वा सामाजिक सञ्जालका केही ‘लाइक’ र ‘कमेन्ट’ ले मात्र बा खुसी हुनुहुँदैन । जीवनको अन्तिम चरणमा पुग्दासम्म आफू आफ्ना सन्तानका लागि सर्वथा परम प्रिय, परम आदर्शको पात्र, सम्मानित, सुरक्षित र अत्यावश्यक छु भन्ने कुरा सन्तानको व्यवहारबाट अनुभूति गरेपछि मात्रै बा खुसी हुनुहुनेछ ।
बाल्यकालमा हामी बोल्न नसक्दा बाले हाम्रो भाषा बुझ्नुभयो । हामी हिँड्न नसक्दा हात समात्नुभयो । हामी डराउँदा साहस दिनुभयो । हामी लड्दा उठाउनुभयो । हामी बिरामी हुँदा रातभर जाग्नुभयो । हामी असफल हुँदा फेरि उठ्न सिकाउनुभयो । आज उहाँ वृद्ध हुनुहुन्छ । शरीर कमजोर हुँदैछ । आँखा धमिलिँदैछन् । कान कम सुन्न थालेका छन् । हिँडाइ सुस्त हुँदैछ । अब उहाँलाई संसारको सबै सुविधाको खासै अर्थ नहुन सक्छ । किनकी मनोविज्ञान अनुसार बृद्धावस्थामा उहाँलाई सन्तानको समय, संवाद, सम्मान, सुरक्षा, स्नेह, आफ्नोपन र सबैभन्दा ठूलो कुरा म आफ्ना सन्तानका लागि सदैव प्रिय छु भन्ने अनुभूति चाहिएको हुन्छ ।
तैत्तिरीय उपनिषद्को शिक्षामा भनिएको छ, ‘मातृदेवो भव । पितृदेवो भव ।’
मातापिता साक्षात् भगवान्का स्वरुप हुन् । पिता एउटा जीवित दर्शन हुन । इतिहास हुन्, संस्कार हुन्, संघर्ष हुन्, त्याग हुन् र उत्तरदायित्व हुन् । सन्तानको वर्तमान निर्माण गर्न आफ्नो वर्तमान होमिदिने जीवन हुन् । तसर्थ, बा जीवनका जीवित प्रतिमूर्ति हुन् ।
हाम्रा सनातन सभ्यताका हरेक पर्वहरू मानिसलाई आफ्नो मूल र अस्तित्वसँग पुनः जोड्ने सांस्कृतिक चेतना हुन । बाको मुख हेर्ने दिनु पनि केवल एउटा अनुहार नियाल्ने औपचारिक अवसरको दिन होइन । यो त आफ्नो सनातन जरा र उद्गम खोतल्ने दिन हो ।
हामी कहाँबाट आयौँ ? कसको श्रमको जगमा हाम्रो वर्तमान उभिएको छ ? हाम्रो रगत र शरीरमा कसको अंश छ ? हाम्रा चालचलन र संस्कारमा कसको अमिट छाप छ ? हाम्रो बाल्यकाललाई सुरक्षा दिन कसले आफ्नो सर्वश्व सुम्पियो ? र, हाम्रो उज्ज्वल भविष्य निर्माण गर्न कसले आफ्नो वर्तमान सहर्ष आहुति दियो ? यी प्रश्नहरूको गहिरो आत्मबोध र स्मरण नै यस पर्वको वास्तविक साधना हो ।
यदि पर्व बाह्य आडम्बर र औपचारिकतामै सीमित रह्यो भने, त्यो एउटा सामान्य दिनझैँ बितेर जान्छ । तर, यदि पर्वको यो मर्म मानिसको चेतनामित्र प्रवेश गर्नसक्यौँ भने मानिसभित्र एउटा रूपान्तरण सुरु हुन्छ ।
त्यसैले, आज बाको अनुहार नियाल्दा केवल एउटा मान्छेको रूप नहेरौँ । उहाँको अनुहारका हरेक रेखा र चाउरीमा आफ्नो अस्तित्वको सिङ्गो इतिहास पढौँ ।
आज हाम्रो समाज एउटा अनौठो र दर्दनाक विरोधाभासबाट गुज्रिरहेको छ । घर विशाल छ, आँगनमा गाडी छ, व्यापार व्यवसाय फस्टाएको छ, बैंक खाता भरिपूर्ण छ, आधुनिक सुविधाको कुनै कमी छैन । तर, त्यही भव्य महलको एउटा कुनामा बूढा बाआमाका लागि सन्तानको दुई पलको समय छैन ।
कतिपय सम्पन्न परिवारले बाबुआमाको हेरचाहका लागि सुसारे र नर्सहरू राखेका छन् । समयमै औषधि पुग्छ, मीठो मसिनो खाना पुग्छ, कोठा सफा हुन्छ, उत्कृष्ट चिकित्सा सुविधा उपलब्ध हुन्छ । तर यहाँ प्रश्न भौतिक सुविधाको भन्दा आत्मीयताको हो । भाडाका मानिसले शरीरको स्याहार गर्न सक्छन्, तर सन्तानको न्यास्रो मेट्न सक्दैनन् ।
नर्सले समयमा औषधि खुवाउन सक्छिन्, तर बा, आज हजुरलाई कस्तो छ ? भनेर अंगालो मार्ने छोराछोरीको भावनात्मक स्थान लिन सक्दिनन् । सुविधा र प्रबन्ध त पैसाले किन्न सकिएला । तर सम्बन्धहरू प्रतिनिधि राखेर चलाउन सकिँदैन ।
यतिमात्रै होईन्, कतिपय अबस्थामा सन्तान आर्थिक रूपमा सम्पन्न छन्, आफ्नै विशाल घर छ, हेरचाह गर्ने सामथ्र्य छ । अझ बाबुआमालाई साथै राख्न सकिने सम्पूर्ण अनुकूलता छ तानिपनि केवल आफ्नो सहजता, व्यक्तिगत स्वतन्त्रता वा विलासी जीवनशैलीका कारण वृद्ध बाबुआमालाई वृद्धाश्रमको कोठामा लगेर राख्ने गरेको दृष्यहरु पनि प्रशस्तै देखिन्छ ।
साथै आज लाखौँ नेपाली रोजगारी, अध्ययन र अवसरका लागि विदेशमा छन् । परिवारको भविष्यका लागि परदेश पुगेर संघर्ष गर्नु सम्मानयोग्य कुरा हो । पैसा पठाउनु पनि जिम्मेवारीको एउटा रूप हो । तर बुढा भएका बाआमालाई पैसा पठाएर मात्रै खुसी दिएको छु भन्ने सोच्नु मुर्खता हुनसक्छ ।
दूरीलाई नियति नबनाऔँ । समय निकालौँ । नियमित कुरा गरौँ । उहाँको स्वास्थ्य सँगै मनको अवस्था पनि सोधौँ । किनकि तपाईँले पठाएको पैसा घर चलाउन सक्छ । मनको रित्तोपन भने पूरा गर्न सक्दैन् ।
भौगोलिक दूरीभन्दा कहिलेकाहीँ भावनात्मक दूरी धेरै पीडादायी हुन्छ । अहिलेको पारिवारिक अबस्था हेर्दा बा एउटा कोठामा छोरा अर्काे कोठामा, छोरी मोबाइलमा अनि नातिनातिना आफ्नै डिजिटल संसारमा व्यस्त हुन्छन् । भान्सा एउटै, छाना एउटै तर आपसी संवाद छैन । यस्तो परिवारमा दूरी कति किलोमिटर छ ? भौतिक रुपमा सायद शून्य हुनसक्छ तर मनबीचको दूरी अनन्त देखिन्छ ।
त्यसैले बाको मुख हेर्ने दिन विदेशमा भएका सन्तानका लागि मात्र होइन । बासँग एउटै घरमा बसेर पनि बासँग कुरा गर्न बिर्सिएका सन्तानका लागि पनि हो । हाम्रो पुस्ताका धेरै बाबुहरू आफ्ना भावनाबारे बोल्न सिकेका थिएनन् । उनीहरूले प्रेमलाई शब्दमा भन्दा जिम्मेवारीमा व्यक्त गरे । सायदै कुनै बाले सन्तानलाई म तिमीलाई माया गर्छु भनेनन् होला । तर बिहान हरदिन सबेरै उठेर सन्तानका निम्ती काम गरे । हुनसक्छ महँगो उपहार दिनसकेनन् होला, तर आफ्नो कयौँ आवश्यकतालाई रोक्दै सन्तानको आवश्यकता पूरा गरे ।
आफ्नो दुःख चुपचाप सहेर सधैँँ सन्तानको दुःख सुने । त्यसैले आज बाबुको प्रेमलाई केवल आधुनिक भाषाको अभिव्यक्तिबाट नाप्नु पनि उचित हुँदैन । कहिलेकाहीँ बाबुको मौनता नै प्रेमको सबैभन्दा लामो वाक्य हुन्छ । उहाँको कठोरता पछाडि सन्तान अनुशासनहीन हुने डर हुन सक्छ । उहाँको नियन्त्रण पछाडि सुरक्षा हुन सक्छ । उहाँको मौनताभित्र चिन्ता हुन सक्छ ।
वृद्ध बाबुआमाको थकित मनले माथिका जुनसुकै अबस्थामा रहँदा पनि दिनरात केवल मेरो छोरो मलाई भेट्न कहिले आउलान् ? मेरी छोराछोरी मसित दुई मिनेट मिठो बोल्दै कहिले बसिदेलान् ? भन्ने प्रश्नको जवाफ अनुभुतीबाट गर्न चाहान्छन् । जसको जवाफ सन्तानका संसारको कुनै पनि बैंक खाता वा भौतिक धनले दिन सक्दैन ।
हाम्रो समाजमा सबैभन्दा पीडादायी विकृति त्यतिबेला देखिन्छ जब सन्तानले बाबुलाई तपाईँले जीवनभर मलाई के दिनुभयो ? मेरा लागि के गर्नुभयो ? मेरो लागि कति धन जम्मा गर्दिनुभयो ? तपाईँको प्यारो अर्काे सन्तानलाई यति सम्पति, मलाई किन कम ? जग्गा कसको नाममा छ ? अंश कहिले दिने ? जस्ता प्रश्न गर्न थाल्छन् ।
जब कृतज्ञताको ठाउँमा अधिकार आउँछ । प्रेमको ठाउँमा अपेक्षा आउँछ । अपेक्षा विस्तारै आसक्तिमा बदलिन्छ । आसक्ति असन्तोषमा, असन्तोष विवादमा अनि अन्ततः यहाँ सम्बन्धको अर्थ नै सकिन्छ । र, सन्तानले आफ्नै बाबुलाई सम्पत्तिको कागजमा खोज्न थाल्छ ।
सम्पत्ति बाँडिन सक्छ, तर बाबुको जीवन कहिल्यै बाँड्न सकिँदैन । जग्गाको कित्ता छुट्याउन सकिन्छ, तर जन्मदाताको ऋणको कित्ता छुट्याउन सकिँदैन । घरको कोठा बाँड्न सकिन्छ, तर बाल्यकालमा बाबुले दिएको संरक्षणको मूल्य विभाजन गर्न सकिँदैन । त्यसैले सन्तानले सम्पत्तिलाई बाबुप्रतिको प्रेमको मापन बनाउनु संस्कारको पतन हो ।
पितृसम्मानको नाममा बाबुआमाका सबै व्यवहारलाई सही ठहर गर्न पनि मिल्दैन । अभिभावकत्वको अर्थ सन्तानलाई जन्म दिनु मात्र होइन । उसलाई स्वतन्त्र, जिम्मेवार र चरित्रवान् बनाउनु पनि हो । कतिपय बाबुआमाले सन्तानलाई सम्पत्तिको आश्वासन, डर वा लोभमा नियन्त्रण गरिरहन्छन् ।
कतिपय अबस्थामा अभिभावकमा पनि ‘तिमीले जसरी पनि मैले भनेको मान्नुपर्छ, मैले भनेकै मात्रै गर्नुपर्छ । नत्र तिमीलाई यो दिन्नँ, तिम्रा लागि यस्तो गर्दिन्नँ ।’ जस्ता कुरा गरेर नियन्त्रण गर्न खोज्ने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थामा मातापिता प्रेमको माध्यम नभई नियन्त्रणको साधन बन्न सक्छन् । त्यसैले बाबुआमाले पनि सन्तानलाई सम्पत्तिभन्दा ठूलो विरासतका रुपमा असल चरित्र, संस्कार, विवेक, कर्तव्यबोध, आत्मविश्वास, आध्यात्मिक दृष्टि दिनुपर्छ ।
अनि मात्रै सन्तानमा पितृचिन्तन अत्यन्त गहिरो बन्दै जान्छ । सनातन परम्परा अनुसार हामी आज जुन व्यक्ति बनेका छौँ, त्यसमा केवल हाम्रो व्यक्तिगत प्रयत्न छैन । हाम्रो शरीरमा अघिल्लो पुस्ताको निरन्तरता छ । हाम्रो भाषामा उनीहरूको योगदान छ । हाम्रो संस्कारमा उनीहरूको छाप छ । हाम्रो सामाजिक अस्तित्वमा उनीहरूको श्रम छ । हामीले पाएको अवसरमा उनीहरूको त्याग छ भन्ने भावना आउँछ ।
म फेरि भन्छु, आज सबैले बाबुको अनुहारमा आफ्नो भविष्य हेरौँ । आज केही क्षण बाबुको अगाडि मौन बसौँ । शशरीर उहाँको नजिक नहुनेले ध्यानमा उहाँसँगै बसौँ । र उहाँको निधार हेरौँ, सायद त्यहाँ हाम्रो बाल्यकालको कथा छ । उहाँका हात हेरौँ, सायद त्यहाँ हाम्रो भविष्यका लागि गरिएको श्रम छ । उहाँका खुट्टा हेरौँ, सायद ती खुट्टाले हाम्रो जीवनका लागि हजारौँ पाइला हिँडेका छन् । उहाँका आँखा हेरौँ, सायद त्यहाँ हामीप्रतिको प्रेम अझै उस्तै छ ।
र त्यसपछि आफैँलाई सोधौँ, के म बाको योग्य सन्तान बन्न सकेँ ? मैले उहाँलाई धन दिएँ कि समय पनि ? मैले शरीरको हेरचाह गरेँ कि मनको पनि ? मैले उहाँको संस्कार ग्रहण गरेँ कि सम्पत्ति मात्र ? मैले उहाँसँग असहमति हुँदा पनि उहाँप्रतिको सम्मान जोगाएँ कि जोगाइनँ ? मैले उहाँलाई जीवित हुँदा कृतज्ञता दिएँ कि मृत्युको प्रतीक्षा गरिरहेको छु ? र अन्ततः बा, तपाईं खुसी हुनुहुन्छ ? यस प्रश्नको उत्तर बाको मुखबाट सुन्नुभन्दा पहिले आफ्नो अन्तरात्माबाट सुन्नुपर्छ ।
यदि बा आज तपाईंसँग हुनुहुन्छ भने आज ठूलो उपहार दिन नसके पनि हुन्छ । ठूलो भोज नगरे पनि हुन्छ । महँगो कपडा नकिने पनि हुन्छ । सामाजिक सञ्जालमा तस्बिर नराखे पनि हुन्छ ।
तर केही समय उहाँको छेउमा बस्नुहोस् । उहाँको हात समात्नुहोस् । उहाँको आँखामा हेर्नुहोस् । उहाँका पुराना कुरा सुन्नुहोस् । उहाँलाई सोध्नुहोस्, बा, तपाईंलाई अहिले के चाहिएको छ ? सायद केही छैन । मलाई के चाहिएको छ र ? तिमीहरु खुसी भएपुग्छ उत्तर यही हुनेछ । तर ख्याल गर्नुस्, त्यो केही चाहिएको छैन भित्र धेरै कुरा लुकेको हुन्छ ।
सायद उहाँलाई तपाईंको साथ चाहिएको छ । सायद केही बोल्न मन लागेको छ । सायद कुनै पुरानो दुःख सुनाउन चाहनुभएको छ । सायद केवल तपाईंलाई नजिक देखेर सन्तुष्ट हुन चाहनुभएको छ । त्यसैले उहाँको शब्द मात्र होइन, मौनता पनि सुन्नुहोस् ।
सबैको भाग्यमा सधैँ जीवित बाबुको मुख हेर्ने अवसर हुँदैन । यदि बा अब यस संसारमा हुनुहुन्न भने आज उहाँको स्मरण गरौँ । तर स्मरणलाई केवल आँसुमा सीमित नगरौँ । उहाँले दिएको राम्रो कुरा आफ्नो जीवनमा उतारौँ । उहाँका अधुरा सपना पूरा गर्न सकिने भए पूरा गरौँ । उहाँले गरेको राम्रो कर्मलाई निरन्तरता दिऔँ । उहाँबाट पाएको संस्कार आफ्ना सन्तानलाई दिऔँ । र मनमनै भनौँ, ‘बा, तपाईं शरीरमा हुनुहुन्न । तर तपाईंले दिएको जीवनदृष्टि मभित्र जीवित राख्नेछु ।’ सायद यही पितृस्मरणको सबैभन्दा अर्थपूर्ण रूप हो ।
बा बितेपछि ठूलो फोटो राखेर श्रद्धाञ्जली दिन सजिलो छ । तर बा जीवित हुँदा उहाँको छेउमा बस्नु ठूलो कुरा हो । मृत्यु भएपछि फूल चढाउनु सजिलो छ । तर जीवित हुँदा उहाँको मन नदुखाउनु कठिन छ । श्राद्ध गर्नु संस्कार हो । तर जीवनभर कृतज्ञ भएर बाँच्नु अझ गहिरो साधना हो ।
आज खुट्टा ढोग्नु सजिलो छ । तर उहाँले देखाएको सत्य, श्रम, अनुशासन, त्याग र जीवनमूल्यको बाटोमा हिँड्नु कठिन छ । तर यही कठिन बाटो नै वास्तविक सम्मान हो । त्यसैले आजको दिन केवल पर्व नबनोस् । आत्ममन्थनको अबसर बनोस् ।
आज हामी आधुनिकताको शिखरतिर उक्लिरहेका छौँ । प्रविधिले सिङ्गो संसारलाई हाम्रो हत्केलामा ल्याएर राखिदिएको छ । स्क्रिनको एउटा स्पर्शले हजारौँ माइलको दूरी क्षणभरमै मेटाइदिन्छ । कृत्रिम बुद्धिमत्ता एआईले मानव जीवनका जटिलताहरू सहज बनाइदिँदै छ । सूचनाको बाढी छ, सुविधाको चाङ छ र उपभोगका असीमित साधनहरू छन् । तर, यो भौतिक प्रगतिबिच के प्रविधिसँगै मानिसभित्रको मानवता पनि बढेको छ त ? भन्ने गम्भीर प्रश्न अनुत्तरित छ ।
हामीसँग हजारौँ डिजिटल साथीहरू छन्, तर मनको ढोका खोलेर दुःख सुख साट्ने साँचो सम्बन्धको अभाव छ । हामीसँग संसारभरका तथ्य र तथ्याङ्क छन्, तर आफ्नै जीवनको गन्तव्य र उद्देश्यबारे घोर अस्पष्टता छ । हामीसँग मनोरञ्जनका अनगिन्ती दृश्यहरू छन्, तर मनभित्रको आन्तरिक शान्ति र आनन्द भने हराउँदै छ । हामीसँग सम्पत्र् िजोड्ने अनेकौँ अवसर छन्, तर आफ्नै प्रियजनलाई दिने दुई पलको समय छैन ।
विडम्बना ! हामी डिजिटल पर्दामा प्रविधिसँग गहिरोसँग जोडिएका छौँ, तर आत्मिक र भावनात्मक रूपमा भने एकापसमा टाढिँदै छौँ । आजको मानिसको दैनिकी एउटा निरर्थक जस्तो बन्दै गएको छ । उठ्ने, दौडिने, पढ्ने, कमाउने, उपभोग गर्ने, स्क्रोल गर्ने, अनि सुत्ने अनि फेरि उही बिहानी, फेरि उस्तै दौडधुप यही नै आजका अधिकांश मानिसको सामान्यतया दिनचार्य हो । आखिर विश्व समाजमा यस्तो दुरावस्था कसरी आयो ? यो यान्त्रिक जस्तै जीवनको दौडमा हामीले वास्तवमै म आखिर केका लागि बाँचिरहेको छु ? भन्ने एउटा आधारभूत प्रश्न किन सोध्न बिर्सिएका छौँ ।
जब मानिसले जीवनको भित्री मर्म र उद्देश्य बिर्सन्छ, तब उसका सम्बन्धहरू पनि प्रेममा भन्दा उपयोगिताु को तराजुमा जोकिन थाल्छन् । त्यसपछि सम्बन्धहरूको न्यानोपन हराउँछ । र जीवनको फेद बनेर उभिएका बाबु पनि प्रेम र श्रद्धाका प्रतीक नरहेर केवल सम्पत्तिको स्रोत, सुविधाका प्रदायक, र आर्थिक सुरक्षाका आधार मात्र देखिन थाल्छन् । र, मानवीय संवेदनाको वास्तविक पतन यही बिन्दुबाट सुरु हुन्छ ।
मेरो हृदयमा कहिलेकाँही हाम्रा अघिल्ला पुस्ता अथवा बाहरुले आफ्ना सन्तानलाई सधैँ सफल हुनुपर्छ भनेर त बारम्बार सिकाउनु भयो तर किन कहिल्यै मनुष्य जीवन बुझ्न सिकाउनु भएन होला ? भन्ने प्रश्न पटकपटक आउने गर्छ ।
केही दशक अघिदेखि आजसम्मको विश्व समाजलाई नियाल्ने हो भने बाल्यकालदेखि नै प्रायः अभिभावकहरु आफ्ना सन्तानलाई ‘धेरै पढ, ठूलो मान्छे बन्नुपर्छ, उच्च ओहोदाको जागिर खानुपर्छ, प्रशस्त पैसा कमाउनुपर्छ , ठूलो घर बनाउनुपर्छ, समाजमा सानदार नाम कमाउनुपर्छ’ जस्ता कुराहरु मात्रै बारम्बार सिकाउने गर्छन् । अभिभावका यी आकाङ्क्षाहरू आफैँमा गलत मान्नु हुँदैन । तर, जब यिनै भौतिक उपलब्धिहरूलाई मात्रै जीवनको सम्पूर्ण अर्थ र अन्तिम सत्य ठान्न थालिन्छ तब समाजमा भोगवाद र उपभोगवादको महामारी सुरु हुन्छ । जुन महामारीबाट अहिलेको विश्वसमाज ग्रसित छ ।
जुन महामारीको रोकथाम तथा उपचारका निम्ती आज हरेक अभिभावकले आफ्ना सन्तानलाई सबैभन्दा पहिले ‘एउटा असल चेतना जागृत भएको विवेकशील मानिस बन्नुपर्छ । आफ्नो अन्तरात्मालाई चिन्न सिक्नुपर्छ । सबैको अस्तित्वलाई सम्मान र निस्वार्थ प्रेम गर्न सक्नुपर्छ । हरेक विपत्ति र दुःखमा धैर्य धारणा गर्न सिक्नुपर्छ’ जस्ता शिक्षा वाल्यकालदेखि नै दिनुपर्छ ।
सनातन शास्त्रले ‘सा विद्या या विमुक्तये’ भन्छ । अर्थात् जसले मुक्त गराउँछ, त्यही नै वास्तविक विद्या हो । विद्या केवल अक्षर चिनाउने, डिग्री दिलाउने वा जीविकोपार्जनको साधन बनाउने ज्ञान मात्र होइन । मानिसलाई अज्ञान, अहंकार, लोभ, मोह, क्रोध, द्वेष, भय र आसक्तिको बन्धनबाट मुक्त गर्दै सत्यको बोध, न्यायको चेतना, करुणाको हृदय, दयाको भाव, क्षमाको सामथ्र्य र धर्मपूर्ण आचरण प्रदान गर्ने ज्ञान नै वास्तविक विद्या हो ।
जसले मानिसलाई केवल म कसरी सफल बनूँ ? भनेर सिकाउँछ, त्यो लौकिक शिक्षा हो । जसले म कसरी असल मानिस बनूँ ? भन्ने प्रश्नको उत्तर दिन्छ, त्यही ज्ञान जीवनविद्या हो ।
तर, आजको आधुनिक शिक्षाले केवल जीविका चलाउने क्षमता बढायो, तर कृतज्ञता, करुणा, आत्मसंयम र सम्बन्ध जोगाउने चेतना दिनसकेको छैन । किनकी शास्त्रीय, आध्यात्मिक, धार्मिक ज्ञान विना शिक्षा सदा अपूर्ण रहन्छ । जसका कारण आजका मानिसमा असल चरित्रको खडेरी देखिन्छ ।
आज हाम्रो समाज डिग्रीको गणना गर्ने हो भने उच्च शिक्षित छ । मानिसहरू विज्ञान बुझ्छन्, प्रविधि बुझ्छन्, अर्थशास्त्र र व्यवस्थापनका जटिल सिद्धान्तहरू बुझ्छन् । तर विडम्बना ! उनीहरू आफ्नै बाबुको मौनता र आमाको आँसु बुझ्न असमर्थ छन् ।
आजका युवालाई तनाव व्यवस्थापनको सैद्धान्तिक तालिम दिनसक्छन्, तर एकपल पनि बाबुको एक्लोपन महसुस गर्न सक्दैनन् ।
उनीहरूसँग कर्पाेरेट क्षेत्रमा नेतृत्व लिन सक्षम छ, तर घरमा वृद्ध आमाबाबुसँग प्रेमपूर्वक दुई शब्द संवाद गर्ने संस्कार छैन ।
उनीहरू सँग कसरी आर्थिक स्वतन्त्रता पाउने भन्ने टेक्निकल ज्ञान र सिप छ, तर पितृऋण र जीवनप्रतिको कृतज्ञताको मूल्य थाहाछैन् ।
त्यसैले, अब शिक्षाको परिभाषा पुनः लेखन गर्ने समय आएको छ । आजका पुस्ताले गणित, विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता सबै जान्नुपर्छ । तर, यो भन्दा पहिला बूढो हुँदै गएका बाबुका काँप्ने हातहरूले के भनिरहेका छन् ? आमाका आँखाहरूमा तैरिरहेको मौन पीडा कसरी पढ्ने ? भौतिक सम्पत्ति र आत्मीय सम्बन्ध बिचको भिन्नता के हो ? व्यक्तिगत अधिकार भन्दा नैतिक कर्तव्य किन महान् हुन्छ ? भन्ने कुरा जान्नुपर्ने समय आएको छ ।
र यो भन्दा संसारका सबै धन, पद, प्रतिष्ठा, ऐश्वर्य, वैभव, सुख र सुविधा भएर पनि मानिसको मनभित्र किन शान्ति छैन ? भन्ने कुराको जवाफ अत्यन्तै महत्वपूर्ण छ ।
तसर्थ, आज सबै अभिभावकले पनि हामी बालबालिकालाई भविष्यको यान्त्रिक कर्मचारी बनाउँदै छौँ ? कि एउटा चेतनशील मानिस ? भन्ने कुराको ख्याल गर्नुपर्ने समय आएको छ ।
तसर्थ, आज हरेक बाबुआमाले पनि सन्तानलाई केवल संसार जित्ने आर्शिवाद मात्रै नदिऊन् भन्ने मेरो प्राथना छ । आर्शिवादसँगै जीवन आफूलाई चिन्नका लागि हो । प्रेम गर्नका लागि हो । सेवा गर्नका लागि हो । सम्बन्ध जोगाउनका लागि हो । आफ्नो मूलसँग जोडिनका लागि हो । र अन्ततः आफूभित्र रहेको चेतनाको उज्यालोमा बाँच्नका लागि हो भन्ने ज्ञान पनि दिउन् ।
सन्तानले पनि आज बाको मुख सँगै उहाँको त्याग, संघर्ष, मौन प्रेम, संस्कार, आफ्नो मूल, इतिहास र आफ्नो भविष्य पनि हेरौँ । किनकी बा जीवनका एउटा सबैभन्दा उत्कृष्ट विश्वविद्यालय हुन् । बा वर्तमानको आधार सँगै भविष्यको ऐना पनि हुन् । त्यसैले आज बाबुको खुट्टामा शिर राख्दा केवल आशीर्वाद नलिऔँ ।
एउटा संकल्प पनि गरौँ, ‘बा, तपाईंले जीवनभर जे राम्रो दिनुभयो, म त्यसलाई केवल सम्झेर राख्ने छैन । आफ्नो जीवनमा बाँचेर देखाउनेछु ।’ सायद यही बाको मुख हेर्ने दिनको सबैभन्दा ठूलो पूजा हुनेछ ।
सायद यही पितृप्रतिको सबैभन्दा ठूलो तर्पण हुनेछ । सायद यही पितृऋणप्रतिको सच्चा कृतज्ञता हुनेछ । सायद यही हाम्रो हराउँदै गएको मूल पहिचानतर्फ फर्किने पहिलो कदम हुनेछ । र आज हामीले सबैभन्दा आफैसँग प्रश्न सोधौँ, ‘बा खुसी हुनुहुन्छ ?’
यदि उहाँको मन खुसी छ भने आजको पर्व सार्थक छ । यदि उहाँको आँखामा सन्तोष छ भने हाम्रो पूजा सफल छ । यदि उहाँलाई आफ्ना सन्तानको उपस्थितिमा अपनत्व मिलेको छ भने त्यो नै सबैभन्दा ठूलो उपहार हो । र यदि हामीले उहाँलाई खुसी बनाउन सकेनौँ भने मिठाइ, कपडा, फूल, माला र सामाजिक सञ्जालका शब्दहरूले हाम्रो कर्तव्य पूरा भएको प्रमाण दिँदैनन् ।
किनकि बाको सबैभन्दा ठूलो आवश्यकता सधैँ धन नहुन सक्छ । कहिलेकाहीँ उहाँलाई केवल आफ्ना सन्तानको प्रेम चाहिन्छ । कहिलेकाहीँ केही क्षणको साथ चाहिन्छ । कहिलेकाहीँ हात समातेर बा, म छु नि ! भन्ने एउटा वाक्य चाहिन्छ ।
बाको मुख हेर्ने शुभ अवसरमा सम्पूर्ण पिता तथा पितृशक्तिप्रति हार्दिक नमन ।












