बोेडेका जनस्वास्थ्य कार्यालयको स्वास्थ्य शिविर आयोजना, सयौंले गरे स्वस्थ्य परिक्षण

बोेडेका जनस्वास्थ्य कार्यालयको स्वास्थ्य शिविर आयोजना, सयौंले गरे स्वस्थ्य परिक्षण
मध्यपुर थिमी, २१ असार,
जन स्वास्थ्य कार्यालय भक्तपुरले मध्यपुर थिमी नगरपालिका ८ स्थित बोडे स्वास्थ्य चौकीमा आज स्वास्थ्य शिविर आयोजना गरेको छ । प्रजनन स्वास्थ्य रुग्नता तथा भिआईए स्तन परिक्षण एनसिडी स्किनिङ्ग सम्बन्धि शिविर आयोजना गरिएको हो । सो अवसरमा स्तन क्यान्सर परिक्षण, भिआईए पाठेघर मुख क्यान्सर परिक्षण, स्त्री रोग जाँच, एनसिडी स्कीनिङ्ग परिक्षण, रक्तचाप परिक्षण, मधुमेह परिक्षण, बीएमआई र पिसाबमा प्रोटिन परिक्षण गरिएको थियो ।


बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय भक्तपुरले आयोजना गरेको सो शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको आयोजक कार्यालयका राम शरणले जनाएको छ । स्थानीय समुदायलाई स्वास्थ्य परिक्षणमा अस्पतालसम्म जान्न नपर्ने तथा कुनै रोगको लक्षण देखिएमा थप उपचारकालागि परामर्श दिनकालागि पनि यस्तो शिविरको महत्व रहेको उहाँले बताउनु भयो ।
जनस्वास्थ्य कार्यालयले हिजो मध्यपुर थिमीकै सगरमाथा कोलोनीमा स्वास्थ्य शिविर आयोजना गरेको थियो । सो क्षेत्रमै पहिलो पटक स्वास्थ्य शिविर आयोजना भएको भन्दै स्थानीय समुदायले आयोजक समितिलाई धन्यवाद ज्ञापन गरेका थिए । सामान्य लक्षणमै अस्पतालसम्म जाँदा समय र पैसाको खर्च हुने भएकाले जनस्वास्थ्य कार्यालय भक्तपुरको समन्वयमा सो शिविर आयोजना गरिएको थियो । सो कोलनीका ४६ घर परिवारमा ५ सय भन्दा बढी सदस्य रहेका छन् ।