जिल्लाब्यापी अन्तरसहकारी भेन्ट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु
भक्तपुर, २० असार
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खेलकुद उपसमितिको आयोजनामा शनिवारदेखि भक्तपुर जिल्लाब्यापी अन्तरसहकारी भेन्ट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिता लिवालीस्थित जिम्नास्टिक कभर्ड हलमा सुरु भएको छ ।
भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रसाद प्रजापति र भक्तपुर नपा वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वलाई ब्याट र कर्क हस्तान्तरण गरी खेल सुरु गरी उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ज्याख्वले सहकारीले आर्थिकसँगै खेलकुदका गतिविधिहरु गर्नु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले अनुशासन, स्वास्थ्य र मित्रताको लागि सहकारीबाट यस्तो प्रतियोगिता निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।


संस्थाका अध्यक्ष निर्मल प्रजापतिले कुनै पनि खेलमा खेलाडीको गहना भनेकै मर्यादा र अनुशासन भएकाले आर्थिक सांस्कृतिक पक्षसँगै खेलकुदबाट समाजलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो ।
त्यस्तै भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रसाद प्रजापतिले भक्तपुर बचतले गरेको अन्तरसहकारी ब्याडमिन्टन प्रतियोगिता जस्तै विद्यालयस्तरीय प्रतियोगिता पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख निर्णायक एवम् अन्तर्राष्ट्रिय ब्याडमिन्टनका रेफ्रि राधेश्याम मचामसीले खेलका नियमहरुबारे जानकारी दिएको थियो । निरन्जन प्रजापतिले सञ्चालन गरेको उक्त कार्यक्रम आयोजक समितिका संयोजक राजेश प्रजापतिको सभापतित्वमा भएको थियो ।
बेस्ट अफ थ्रीको नियम अनुसार खेलाइने उक्त प्रतियोगिताका लागि जिल्लाका २० वटा बचत तथा ऋण सहकारी संस्थाबाट २१ वटा टीमले भाग लिएका थिए । प्रतियोगिताको पहिलो दिनको खेलबाट अनमोल बचत, शुभकामना बचत (ख), चण्डेश्वरी बचत (ख) र संगम बचत सेमिफाइनल खेलका लागि छनोट हुन सफल भएको छ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आइतबार विहान ७ बजेबाट सोही स्थानमा हुने संस्थाले जानकारी दिएको छ ।













