नगरकोट भ्रमण वर्षको अवसरमा ताथलीमा साईकल र्याली हुने

नगरकोट भ्रमण वर्षको अवसरमा ताथलीमा साईकल र्याली हुने
भक्तपुर, असार ५ गते
नगरकोट भ्रमण वर्षको अवसरमा दक्षिणकाली युवा समूहले भक्तपुर ताथली नालागढी साइकल र्याली तथा हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ । असार ७ गते शनिबार विहान ६ः३० बजे ब्रम्हायणी मन्दिर परिसरबाट प्रारम्भ हुने सो साइकल र्याली चाँगुनारायण नगरपालिकाको आर्थिक सहयोग र विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना हुने आयोजक समूहका अध्यक्ष सुरेशराज गिरीले जनाएको छ । उहाँले ओझेलमा रहेको ताथली क्षेत्रलाई अरु वडा जस्तै विकास गर्न तथा ताथली क्षेत्रको ऐतिहासिक एवं सास्कृतिक क्षेत्रहरुको प्रचार गरी पर्यटन प्रवद्र्धनकालागि पनि साईकल र्याली आयोजना हुने जनाएको छ । चाँगुनारायण नगरपालिका, मदन देउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखारापुर नगरपालिकाको संयुक्त आयोजनामा भइरहेको नगरकोट भ्रमण वर्षको सन्दर्भमा यो साइकल र्याली आयोजना गरेको भन्दै आयोजक समूहले सो र्यालीमा ३ सय भन्दा बढी साईकल यात्रीहरुको सहभागिता हुने जनाएको छ ।
२४।५ किमीसम्मको यात्रा गरी दिउँसो ३ बजे समापन गर्ने तयारी गरेको सो साईकल र्याली ब्रम्हायणी मन्दिर परिसरबाट सुरु भई ताथलीका विभिन्न वस्तीहरु परिक्रममा गरिने छ । साथै नालागढीमा पैदल यात्रा गरी भ्यु टावर फर्कने विशेष कार्यक्रम समेत रहेको भन्दै आयोजक समूहले सो र्यालीमा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको पनि सहभागि हुने जनाएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबाट उद्घाटनको तयारी थालेको आयोजक समूहले र्यालीमा सहभागि हने यात्रीहरुलाई प्रमाण पत्र र मायाको चिन्ह समेत प्रदान गरिने जनाएको छ।