वरिष्ठ पत्रकार बस्नेतको निधन, आजै गरियो आर्यघाटमा अन्त्यष्टि
भक्तपुर, चैत्र ९ गते
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहेका भक्तपुरका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेको आज दुःखद निधन भएको छ । बस्नेको ७७ वर्षको उमेरमा आज निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । मस्तिष्कघात भएपछि उपचारकालागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका बस्नेतको ७७ वर्षको उमेरमा आज उपचारकै क्रममा निधन भएको छ । उहाँको निधन प्रति गहिरो दुःख व्यक्त गदै महासंघले आज एक शोक विज्ञप्ति जारी गरेको छ ।
पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो । बस्नेतले राष्ट्रिय समाचार समिति र गोरखापत्र संस्थानमा अध्यक्षको रुपमा रही सेवा गर्नुभएको थियो । बस्नेतको निधनले नेपाली पत्रकारिता जगत्तले एक योग्य, अनुभवी र परिपक्व पत्रकारलाई गुमाएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखा स्वर्र्गीय बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । र, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामनासहित गहिरो समवेदना प्रकट गर्दछ । महासंघ भक्तपुरका अध्यष सुन्दर शिल्पकारद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ ।

गएराति भक्तपुरको सूर्यविनायक-८ सिपाडोलस्थित निजी निवासमा अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको अन्नपूर्ण न्युरो अस्पताल पुर्याइएको थियो।शनिबार बिहान १० बजे सम्बन्धित चिकित्सकले उनलाई मृत घोषित गरिदिएका पारिवारिक श्रोतले जनाएको छ। प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा बस्नेत लौह पुरुष स्व गणेशमान सिंहको सबैभन्दा नजिकका जानकार मानिन्छन्। नेपाली कांग्रेस भक्तपुरका नेता समेत रहेका बस्नेतको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति स्थित आर्यघाट पुर्याइएको छ। अपराह्न १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव सुशील बस्नेतले बताएका छन्। दिवंगत वरिष्ठ पत्रकार बस्नेतका श्रीमती, एक छोरा र तीन छोरी छन् ।














