काठमाण्डौ, फागुन १४ गते ।
दीर्घ दमखोकी रोगका विरामीहरुको उपचारकालागि जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका वडा नं. ९ तुमचोमा निर्माणाधीन श्वासप्रश्वास पुनस्र्थापना केन्द्रको दोस्रो चरणको सम्झौता बुधबार सम्पन्न भयो । नेपाल स्थित जापानी राजदूत र जिम्टेफका नेपाल प्रतिनिधि बीच दुतावासको कार्यालयमा एक समारोह बीच सम्पन्न उक्त सम्झौतामा केन्द्रको भवननिर्माण तथा चिकित्साउपकरण खरिद पश्चात नेपाली चिकित्सकहरुलाई उपचार सम्बन्धि तालिम दिने तथा जापानी विज्ञहरुको उपस्थितिमा उपचार गराउने विषयउल्लेख थियोे ।
समारोहमा नेपालकालागि जापानी राजदुत मासामिची साइगोले जापानका वरिष्ठ सरकारी चिकित्सकहरुको संस्था जिम्टेफको सहगोगमा भक्तपुर नगरपालिकाले स्थानीय जनताको सहभागिता र उपभोक्ता समितिमार्फत केन्द्रको भवननिर्माण गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले दुई देशका जनता बीचका सम्बन्धलाई थप सुमधुर पार्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बढ्दो शहरी विकाससंगै वायु प्रदुषण बढेको कारणले जनताहरुमा श्वासप्रश्वास सम्बन्धि रोगहरु देखापरेको चर्चा गर्दै दीर्घ रोगीहरुलाई जापानी प्रविधिबाट उपचार गराउन नेपालमै पहिलो पटक भक्तपुरमा केन्द्र स्थापना गर्न खोजेको बताउनुभयो ।


जिम्टेफका नेपाल प्रतिनिधि मायदानोरिकोले भक्तपुरमा श्वासप्रश्वास पुनस्र्थापन केन्द्र संचालनको तीनवर्षे योजना अन्तर्गत पहिलो वर्ष भवननिर्माण र उपकरण खरिद प्रकृया सफलतापूर्वक सम्पन्न भएको र दोस्रो वर्षमा नेपाली चिकित्सकहरुलाई यस उपचार विधिबारे तालिम संचालन गरी विरामीको उपचार शुरु गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले नेपालमा पहिलोचोटी समुदायमा आधारित केन्द्र संचालनगरिन लागेको र भक्तपुरबासी जनता र भक्तपुर नगरपालिकाले गरेको सहयोगप्रति कृतज्ञता व्यक्तगर्नु भयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाले आप्mनै जग्गामा नियमानुसार नक्सापास गरी स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत केन्द्रको भवननिर्माण गर्दा लागत अनुमान भन्दा कमखर्चमा गुणस्तरीय भवन तयार भएको बताउनुभयो । उहाँले जापानी चिकित्सा टोली र जापानी जनताप्रतिधन्यवाद ज्ञापन गर्दै हाल निर्माणाधीन भवनको उद्घाटन समारोह आगामी चैत्र ३ गते एक समारोह बीच गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर एवं सोलिड नेपालका कार्यकारी निर्देशक डा. खेमबहादुर कार्कीले भक्तपुरमा स्थापित श्वासप्रश्वास केन्द्रलाई उत्कृष्टताको नमूना परियोजना बनाउने र यसैलाई केन्द्र बनाई देशका अन्य नगरपालिकाका चिकित्सकहरुलाई पनि तालिम संचालन गर्ने तयार भइरहेको जानकारी दिनुभयो ।
जिम्टेफले भक्तपुर नगरपालिकालाई केन्द्रको भवननिर्माणका लागि निःशर्त १ करोड ७० लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको र नगरपालिकाले आप्mनै ५ आना ३ पैसा ३ दाम क्षेत्रफलको जग्गामा दुइटा फरक फरक उपभोक्ता समितिमार्फत भवननिर्माण कार्य सम्पन्न गरेको नगरपालिका स्रोतले बताएको छ । उक्तभवनमा दीर्घ दमखोकी रोगका विरामीहरुलाई फिजियोथेरापी विधिबाट उपचार सेवाप्रदानगरिने र त्यसकालागि आवश्यक चिकित्सकीय उपकरणहरु जडानगर्ने कार्य भइरहेको पनि बताइएको छ । आगामी चैत्र ३ गतेबाट सर्वसाधारण विरामीहरुलाई कम शुल्कमा उपचार शुरु गरिने नगरपालिकाले जानकारी दिएको छ ।














