चाँनपामा आठौ वर्ष खोप सुनिश्चित प्रमाणिकरण
भक्तपुर, असार २१ ग्ते
चाँगुनारायण नगरपालिका आठौं वर्ष पूर्ण खोप सुनिश्चित नगर प्रमाणिकरण भएको छ । नगरमा रहेका ९४३ बालबालिकाहरुलाई पूर्ण खोप र ९७३ जनालाई लगातार खोप सुनिश्चित गरेको भन्दै चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा भक्तपुरले आज पूर्ण खोप सुनिश्चितता दिगोपना प्रमाणिकरण कार्यक्रम आयोजना गरेको हो । नगरलाई खोप सुनिश्चित प्रमाणिकरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप संयोजक ईश्वर थापा , जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले खोप सुनिश्चित प्रमाणिकरण रिपोर्ट प्रदान गरी सो कार्यक्रम आयोजना भएको थियो ।


कार्यक्रममा बोल्दै जिसस प्रमुख थापाले जिल्लाको स्वास्थ्य अवस्थाको समीक्षा गर्दै भक्तपुर नगरले घरदैलो नर्सिङ सेवा दिएर जनतालाई राम्रो स्वास्थ्य सेवा दिइरहेको भएपनि जिसससँग समन्वय नभएको गुनासो गर्दै घन्नाबस्तीमा जनस्वास्थ्यको पहुँच पुर्याउनुपर्नेमा जोड दिनु भयो भने नगर प्रमुख जीवन खत्रीले नगरलाई खोप सुनिश्चित बनाउन योगदान गर्ने निकायहरुले आआफ्नो भूमिकालाई थप परिस्कृत र निरन्तरता दिएर खोप सुनिश्चित नगरलाई दिगो बनाइ राख्नुपर्नेमा जोड दिनु भयो । उहाँले नगरमा बढ्दै गएको नसर्ने रोग चुनोतिको रुपमा देखिएको भन्दै रोकथामकालागि जनचेतना फैलाउनुपर्ने तथा स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक भएकोमा जोड दिनु भयो ।


सो अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख अस्मिता ओझाले जिल्लाको स्वास्थ्य शाखाहरुको गतविधिहरुमा चाँगुनारायण उत्कृष्ठ रहेको चर्चा गर्दै खोप सुनिश्चित कार्यलाई निरन्तरता दिन देखिएको चुनौतिहरुको समीक्षा गर्नु भयो भने युनडिपिका डाक्टर सागर शाक्यले भक्तपुर जिल्ला खोप सुनिश्चित जिल्ला भए पनि बाहिरबाट आएका केसहरुले कहिलेकाही जोखिममा पर्ने गरेको चर्चा गर्दै तथली जनस्वास्थ्य शाखाको सेवा राम्रो र उत्कृष्ठ रहेको बताउनु भयो । जनस्वास्थ्य शाखा चानपाका प्रमुख सत्यकुमार दुवालले सहजिकरण गरेको सो कार्यक्रम जनस्वास्थ्य निरिक्षक बलराम तिमल्सेनाले सञ्चालन गरेको थियो । नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा चानपाका जनप्रतिनिधी गणेश त्यात, रोजकुमार मोक्तान, जनस्वास्थ्य खोप अधिकृत शान्तिराम खतिवडा सहित नगरका स्वास्थ्यकर्मी तथा कर्माचारीहरुको सहभागिता थियो ।













