न्यूनतम मापदण्ड मापनमा ताथली स्वास्थ्य चौकी प्रथम
भक्तपुर, असार २१ गते
आर्थिक वर्ष २०८०।८१को न्युनतम सेवा मापदण्ड मापनमा चाँगुनारायण स्वास्थ्य चौकी प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले नेपाल सरकार स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्ड मापन २०८०।८१मा चाँगुनारायण नगरपालिकाको वडा नं ९स्थित ताथलीको स्वास्थ्य चौकी प्रथम भएका हुन भने नगरकोट स्वास्थ्य चौकी दोस्रो तथा छालिङ्ग स्वास्थ्य चौकी तेस्रो भएका छन् । जनस्वास्थ्य कार्यालय भक्तपुरका सूचना अधिकारी अस्मिता ढुंगानाका अनुसार यसरी उत्कृष्ठ हुने स्वास्थ्य चौकीहरु सबै चाँगुनारायण नगरपालिका अन्तरगतकै परेका छन् भने सान्त्वना पुरस्कार सूर्यविनायक नगरपालिका वडा नं १०स्थित चित्तपोलको स्वास्थ्य चौकीले पाएको छ ।



जिल्लामा २० वटा स्वास्थ्य चौकी रहेका मध्ये आव २०८०।८१को मूल्यांकनमा चाँगुनारायण नगरपालिका अन्तरगत कै ३ वटा स्वास्थ्य चौकीको सेवा प्रभावकारी भएको उल्लेख गर्दै जनस्वास्थ्य अधिकृत अस्मिता ओझाले प्रथम हुनेलाई भ्याकुम क्लिनर, दोस्रो हुनेलाई वाटर डिस्प्रेंसर र तेस्रो हुनेलाई तेबुल फाइनबाट पुरस्कृत गरेका थिए । कार्यक्रममा भक्तपुरका चारवटै नगरपालिकाका जनस्वास्थ्य शाखाका कार्यालय प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । सो अवसरमा नगरपालिका स्वास्थ्य शाखाहरुको वार्षिक समीक्षा समेत गरिएको थियो । सो अवसरमा जिल्लाका सबै स्वास्थ्य चौकीहरुलाई कार्यालय प्रमुख अस्मिता ओझाले मायाको चिन्ह प्रदान गर्नु भयो भने कार्यक्रममा खोप अधिकृत दिपक अछामी र अस्मिता ढुंगानाले सहजिकरण गर्नु भएको थियो ।













