मध्यपुर थिमिमा TB संक्रमण बढी
भक्तपुर, असार २१ ग्ते
भक्तपुर जिल्लाको मध्यपुर थिमिमा क्षयरोग (टिबी) संक्रमितको संख्या बढेको पाइएको छ । गत वर्ष भक्तपुर नगरमा बढी संक्रमित पुष्टि गरेको जनस्वास्थ्य कार्यालय भक्तपुरले आज तथ्यहरु प्रस्तुत गर्दै जिल्लामा सबै भन्दा बढी मध्यपुर थिमिमा क्षयरोगी पत्ता लागेको जनाएको छ । जिल्लामा पत्ता लागेका ६११ क्षयरोगी मध्ये सबै भन्दा बढी मध्यपुर थिमि नगरमा मात्रै २११ जना संक्रमितहरु पत्ता लगाई उपचार उपचार भइरहेको जनाएको होे ।


‘हो हामी क्षयरोग अन्त्य गछौं’ नाराका साथ समुदायमा लुकेर रहेका क्षयरोगीहरुको खोजी कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै जनस्वास्थ्य कार्यालय भक्तपुरले आज क्षयरोग मक्त नेपाल घोषणा अभियानको जिल्ला स्तरीय समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै जिल्लामा क्षयरोगको अवस्था बारे छलफल र क्षयरोग मुक्त जिल्ला बनाउन गर्नुपर्ने तयारीहरुका विषयहरुमा समेत छलफल गरेका थिए । जनस्वास्थ्य कार्यालय भक्तपुरको सभाहलमा आयोजित सो कार्यक्रममा जिल्लामा १ हजार ७० क्षयरोगका केस हुने अनुमान गरेकोमा ६११ जना मात्रै पत्ता लगाएर उपचारको पहुँच पुर्याउन सकेको उल्लेख गरेका थिए । समुदायमा लुकेर रहेका क्षयरोगीहरुको खोजी गरी सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य र सन् २०५०सम्ममा उन्मुलन गर्ने राष्ट्रिय अभियानलाई सार्थक बनाउन जिल्लास्तरका ४ वटै पालिकाहरुको समन्वयको खाँचो औल्याएका थिए । जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाको अध्यक्षतामा बसेको सो बैठक तथा अन्तरक्रियामा सहभागि सरोकारवालाहरुले क्षयरोग निवारणकालागि समुदायमा व्यापक क्षयरोगको खोजी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिर्दै जिल्ला बाहिरबाट आएका व्यक्तिहरुबाट हुने जोखिमका बारेमा समेत छलफल गरेका थिए ।


कार्यक्रममा जनस्वास्थ्य अधिकृत अस्मिता ओझाले क्षयरोग निवारण अभियान प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधीहरुसँगको सहकार्य र सक्रियता प्रभावकारी हुने भएपनि उहाँहरुको सहभागिता न्यून भएको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय पालिकाहरुसँग समन्वयकारी भुमिका खेलि दिन जिल्ला समन्वय समितिलाई आग्रह समेत गर्नु भएको थियो । घनावस्ति भएका भक्तपुर जिल्लाको मध्यपुर थिमी र भक्तपुर नगरपालिकामा क्षयरोगको संक्रमण बढी भएको विश्लेषण गर्दै खोप अधिकृत शान्तिराम खतिवडाले क्षयरोग ८० प्रतिशत फोक्सोमा लाग्ने र यो नै सरुवा क्षयरोग भएको बताएका थिए भने जनस्वास्थ्य कार्यालय भक्तपुरका क्षयकृष्ठ अधिकृत झोलानाथ पौड्यलले क्षयरोगको पृष्ठभुमि, परिचय र अवस्था बारे प्रस्तुतीकरण गर्नु भएको थियो । साथै सो अवसरमा स्थानीय पालिकास्तरमा क्षयरोगको अवस्था रोकथाम र उपचारको पहुँचको अवस्था बारे पनि छलफल गरेका थिए । गत जेष्ठ मसान्तसम्मको तथ्याँग अनुसार यस वर्ष बढीमा मध्यपुर थिमीमा २११ जना संक्रिमत फेला पारेका छन् भने भक्तपुर नगरमा २०१ जना पुष्टि भई उपचार भइरहेको जनाएको छ ।















