बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ३१६ लाभान्वित
भक्तपुर ः
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा मंगलबार एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. र काठमाडौं सक्रिय युवा समूहको संयुक्त आयोजना तथा काठमाडौं मेडिकल कलेज, शिक्षण अस्पताल, सिनामंगलको प्राविधिक सहयोगमा ताथलीस्थित देवी माध्यमिक विद्यालयको प्रांगणमा शिविर सञ्चालन भएको हो । शिविरमा ३१६ जना लाभान्वित भएका छन् । विशेषज्ञ चिकित्सकसहित ३० जनाको टोलीले स्वास्थ्य सेवा दिएका हुन् ।


शिविरमा ४८ जनाले स्त्री रोग, १७ जनाले बाल रोग, ८३ जनाले हाड जोर्नी तथा नशा रोग, ३१ जनाले नाक, कान, घाँटी, ६४ जनाले दन्त रोग, ११० जनाले आँखा रोगको परीक्षण गराएका थिए । यसैगरी, ११ जनाले शल्यक्रिया सर्जरी सेवा, ६४ जनाले ईसीजी सेवा र ७५ जनाले अल्ट्रासाउन्ड सेवा लिएका थिए । शिविरमा ल्याब टेस्टको समेत व्यवस्था गरिएको थियो । १०६ रगत तथा पिसाब जाँच गरिएको आयोजक संस्था सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरिगोपाल बासुकलाले जानकारी दिए ।
शिविरमा स्वास्थ्य जाँच गराएका बिरामीहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । वितरित औषधी पानस फर्मास्युटिकल्स प्रालि, क्वेस्ट फर्मास्युटिकल्स प्रालि, एभरेष्ट प्यारेन्टेरल्स प्रालि, बि. राज फर्मा प्रालि, ओम्नी ल्याबोरेटोरिज प्रालिले उपलब्ध गराएको काठमाडौं सक्रिय युवा समूहका अध्यक्ष विजयरत्न खड्गेले जानकारी दिए । शिविरमा जाँच गराई पुर्जी लिई आउनेलाई काठमाडौं मेडिकल कलेज, शिक्षण अस्पतालमा आउनेलाई अपरेसन सहित सबै सेवामा २५ प्रतिशत छुट दिने बताइएको छ ।
यसैबीच, शिविर समापन कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष गणेश त्यातले अस्वस्थकर जीवनशैली र खानपिनले मानिसहरुमा विभिन्न रोगहरु वृद्धि भइरहेको भन्दै स्वस्थ खानपिनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए भने काठमाडौं सक्रिय युवा समूहका अध्यक्ष खड्गे, काठमाडौं मेडिकल कलेजका कोअर्डिनेटर प्रेम सुवाल र देवी माविका प्राचार्य राजाराम छुकाँले आआफ्नो धारणा राखेका थिए । सयपत्री साकोसका अध्यक्ष बासुकलाले बढ्दो स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै आगामी दिनमा पनि संस्थाले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।













