शुभदीप बचतको १६औं वार्षिक साधारणसभा सम्पन्न

शुभदीप बचतको १६औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २० माघ
शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रह्मायणी पीठमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका ९ वडाध्यक्ष रविन्द्र ज्याख्वले साधारणसभाको औचित्य प्रष्ट्याउँदै साधारणसभाकै दिन संस्थाको वार्षिक क्रियाकलाप तथा आर्थिक जानकारी प्राप्त हुने बताउनुभयो । उहाँले सदस्यको हितमा संस्थाले गरिने हरेक गतिविधिको यथार्थ विवरण त्यस्तो सभाबाट दिने प्रष्ट्याउनु्भयो । साथै उहाँले सहकारी संस्था र सदस्यवीचको जति घनिष्ठ सम्बन्ध हुन्छ, त्यति बैंक र फाइनान्ससँग नहुने स्पष्ट पार्नुभयो । विभिन्न लोभ प्रलोभनमा परी जनताको बचत उठाएर नराम्रो सोचका मान्छेले सहकारी संस्थाको रकम हिनामिना गरिरहेको बताउँदै अब कुनै खालको दु:ख नपाउन संस्थाको बारेमा गहन अध्ययन गर्नुपर्ने औल्याउनुभयो ।


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य कृष्णश्वरी मचामसीले संस्थाका नीति नियम र सञ्चालन पद्दतीबारे जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले नियमित साधारणसभा नगरेका, सामाजिक आर्थिक गतिविधि नगरेका सहकारीमा समस्या आइरहेको औल्याउनुभयो । सम्बन्धित क्षेत्रका निकायबाट स–साना घरेलु तथा औद्योगिक कार्यमा लगानी गर्न उत्प्ररित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैयाँ सुजखुले सहकारी सदस्यलाई आर्थिकसँगै सामाजिक, राजनीतिक अवस्थाबारे पनि जानकारी गराइराख्नुपर्ने बताउनुभयो । राजनीतिक र सामाजिक रुपमा सुसूचित एवं अनुशासित नभएका व्यक्तिले संस्थालाई राम्रोसँग चलाउन नसक्ने औल्याउनुभयो ।
संस्थाका कानुनी सल्लाहकार प्रेम प्रजापतिले संस्थाको व्यवस्थापनमा आन्तरिक स्वनियमन तथा नियन्त्रण महत्वपूर्ण सावित हुने बताउनुभयो । उहाँले सहकारीभित्रको आन्तरिक व्यवस्थापनको कमजोरीकै कारण सहकारीहरु समस्याग्रस्ट बनेको बताउँदै विभिन्न सहकारीमा आएको समस्याबाट सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रमबाट संस्थाका सचिव ज्ञानेन्द्र प्रसाद मगजुको आ.व. २०७९/८० को प्रगति प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९/८० को आथिृक प्रतिवेदन, लेखा संयोजक राजकुमार प्रजापतिद्वारा प्रस्तुत आ.व. २०७९/८० को प्रतिवेदन, वाह्य लेखा परीक्षकको प्रतिवेदन, आ.व. २०८०/८१ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी विभिन्न प्रस्तावहरु पारित गरेको थियो । कार्यक्रममा विजय प्रसाद प्रजापतिले बोल्नुभएको उक्त कार्यक्रममा ७० प्रतिशत सदस्यहरुको उपस्थिति रहेको छ ।