राष्ट्रपति पौडेल र भक्तपुर उद्योग वाणिज्य संघको टोलीबीच भेट
काठमाडौं : सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल र भक्तपुर उद्योग वाणिज्य संघको एक टोलीबीच बुधबार भेट भएको छ ।
राष्ट्रपतिको कार्यालय शितलनिवासमा राष्ट्रपति पौडेल र संघका कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु सम्मिलित टोलीबीच भेटघाट भएको हो । भेटको क्रममा राष्ट्रपति पौडेलले देशको आर्थिक उत्थान र विकासको लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । देशमा विद्यमान आर्थिक अवस्थाप्रति सबैले गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘विगतमा घटेका दुइ–तीन वटा घटनाका कारण देशको आर्थिक अवस्थामा समस्या देखिएको हो’, उहाँले भन्नुभयो, ‘कोभिड महामारी, विश्वमा देखिएको आर्थिक मन्दी, रुस–युक्रेनबीचको युद्धका कारण विश्वमै महँगी बढ्यो, जसका कारण नेपालमा पनि त्यसको प्रभाव परेको हो ।’


राष्ट्रपति पौडेलले देशमा व्याप्त विद्यमान आर्थिक समस्या सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उद्योगी व्यवसायीहरु अहिले ठूलो मारमा रहेको भन्दै उहाँले निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि नेपाल सरकारलाई सुझाव दिँदै आएको स्पष्ट पानुभयो ।
राष्ट्रपति पौडेलले देशलाई सही दिशामा डोर्याउन तथा सुशासनको लागि निजी क्षेत्रसँगै सबैले आआफ्नो ठाउँबाट नेपाल सरकारलाई दबाब दिइरहनुपर्ने बताउनुभयो । राष्ट्रिय एकता, साम्प्रदायिक एकता, क्षेत्रीय एकतालाई जोगाइरहनुपर्ने भन्दै उहाँले देश अस्थिरतातर्फ फस्न नदिन राजनीतिक स्थायित्व कायम हुनुपर्नेमा समेत जोड दिनुभयो ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले पछिल्लो समय देशको अर्थतन्त्रमा आएको मन्दीका कारण धेरैजसो उद्योगी, व्यवसायीहरु आफ्नो उत्पादन कटौती र उद्योग, व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले उच्च बैंक ब्याजदर र जनताको क्रयशक्तिमा आएको कमीका कारण समग्र बजार माग घट्न गई व्यवसायीहरु न्यूनतम लागत खर्च उठाउन पनि नसक्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘यस्तो गम्भीर आर्थिक मन्दीको अवस्थाबाट समुन्नति र समृद्धितर्फ अर्थतन्त्रलाई डोर्याउन आवश्यक मौद्रिक नीति तथा वित्तीय उपायहरु तत्काल अवलम्बन गर्न हामी उद्योगी, व्यवसायीहरु सरकारसँग माग गर्दछौं’, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलसँगको भेटको क्रममा अध्यक्ष मानन्धरले भक्तपुर जिल्लाका सम्पूर्ण उद्योगी, व्यवसायीहरुको तर्फबाट जिल्लाको आर्थिक एवं सामाजिक विकासमा महत्व राख्ने केही महत्वपूर्ण योजनाप्रति नेपाल सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ । उहाँले भक्तपुर जिल्लाको पर्यटन विकासका लागि पर्यटन पूर्वाधार क्षेत्रमा बढीभन्दा बढी लगानी गर्न, कृषिउपज बजारीकरणका लागि जिल्लामा व्यवस्थित फलफूल तथा तरकारी बजारको स्थापना गर्न, जिल्लाको घरेलु तथा हस्तकला उद्योगको विकासका लागि जिल्लाभित्र सुविधासम्पन्न हस्तकला ग्राम र कोसेली घर निर्माण गर्न सरकारसँग माग गर्नुभयो । यसैगरी, उहाँले जिल्लाको मात्र नभई मुलुककै शैक्षिक विकासमा दूरगामी प्रभाव पार्ने प्रस्तावित ख्वप: विश्वविद्यालय स्वीकृति दिनुपर्नेमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेललाई भक्तपुर जिल्लाका उद्योगी, व्यवसायीहरुको तर्फबाट संघले मायाको चिनोस्वरुप मयुर झ्याल प्रदान गरेको छ । अध्यक्ष मानन्धरले राष्ट्रपति पौडेललाई मयुर झ्याल, भादगाउँले टोपी र जुजु धौ प्रदान गर्नुभयो । यसैगरी, संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले विगतमा संघले प्रकाशित गरेको स्मारिका तथा पूर्वअध्यक्ष एवं सल्लाहकार युवक राजभण्डारीले संघको स्मारिका तथा उद्योगी, व्यवसायीहरुले पालना गर्नुपर्ने आचारसंहिताबारे उल्लेख गरिएको ब्रोसर राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभयो ।













