लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन

लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन

मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको ६६औँ बैठकमा उहाँले सङ्घीय, स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा छिटोभन्दा छिटो सेवा दिन सक्ने गरी तीन दिनभित्र कार्ययोजना बनाउन मन्त्रालयलाई निर्देशन दिनुभएको हो । उक्त समितिका संयोजक मुख्य सचिव अर्यालले समसामयिक समस्याका विषयमा सम्बन्धित विभिन्न मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गी रोग फैलिन नदिन प्रदेश तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा व्यापक रुपमा जनचेतनामूलक सन्देश प्रवाह गर्ने निर्देशन दिनुभयो । यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त बजार अनुगमनका लागि सूचना सङ्कलन प्रविधिको प्रयोग जनशक्ति परिचालनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभयो । त्यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहयोग तथा सहजीकरण गर्न निर्देशन दिनुभयो । यी दुई मन्त्रालयलाई बजारमा खाद्य उपलब्धताको सुनिश्चितता गर्न सरकारी र निजी क्षेत्रको सहभागितामा उपलब्ध गोदामसमेत प्रयोग गरी आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन गर्नेसमेत निर्देशन दिनुभयो ।