बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध

काठमाडौँ, २५ जेठ (रासस) ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताउनुभयो । उहाँले उजुरीको आधारमा त्यस्ता स्वास्थ्य संस्थालाई नियमानुसार कारवाही गरिने बताउनुभयो ।

सरकारले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई रु तीन हजार ५०० प्रतिदिन, मध्यमबिरामीका लागि रु सात हजार प्रतिदिन र गम्भिर प्रकृतिका बिरामीलाई रु १५ हजार प्रतिदिन तोकेको छ ।

उक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा सङ्क्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ ।

सरकारले सबै सरकारी अस्पताल र मन्त्रालयले सार्वजनिक गरेको सूचिअनुसार सेवा सम्झौता गरेका नीजि अस्पतालमा सङ्क्रमितको भने निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयले सरकारले तोकेको शुल्कअनुसार सङ्क्रमितको उपचार भए वा नभएकोबारे लिएका अनुगमन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सरकारले तोकेभन्दा बढी लिने अस्पताललाई कारवाही गर्न उद्योग मन्त्रालयले अनुरोध गरिएको जानकारी दिनुभयो ।

अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन मन्त्रालयको अनुरोध

काठमाडौँ, २५ जेठ (रासस) ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिनुहुन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्ति, संस्था वा निकायलाई अक्सिजनको सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउनु अनुरोध गर्नु भएको हो ।

उहाँले खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने भएकोले ति सिलिण्डर उपलब्ध गराउनु अनुरोध गर्नु भएको हो ।

“उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिण्डर विभिन्न कारणले देशमा विभिन्न भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन” उहाँले सूचनामा भन्नुभएको छ, “ती सिलिण्डर समयमै र्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिलाई अप्ठयारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति संस्था वा निकायले जुनसुकै वहानामा लैजानु भएका अक्सिजन सिलिण्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ ।”

उहाँले अस्पतललाई पनि अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भनेर राख्नु हुन, अक्सिजन प्लान्ट वा टङ्याक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्णक्षमतामा अक्सिजन सञ्चालनसमेत गर्न अनुरोध गर्नुभएको छ ।

सहप्रवक्ता डा अधिकारीले सङ्ख्यात्मकरुपमा सङ्क्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायमै रहेको उल्लेख गर्नु भएको छ ।

अहिलेसम्म नेपालमा पाँच लाख ९१ हजार ४९४ सङ्क्रमण, चार लाख ९७ हजार ९६० निको र सात हजार ९९० सङ्क्रमणबाट निधन भइसकेका छन् ।