भक्तपुर अस्पतालले मनाए ११९ औ स्थापना दिवस, उत्कृष्ठतालाई निरन्तरता दिने प्रण

भक्तपुर अस्पतालले मनाए ११९ औ स्थापना दिवस, उत्कृष्ठतालाई निरन्तरता दिने प्रण
भक्तपुर असार २२ गते
भक्तपुर अस्पतालले आफ्नो सेवा सधै उत्कृष्ठै राख्ने प्रण गर्दै आज ११९ औं स्थापना दिवस मनाएको छ। १२० वर्षमा प्रवेश गरेको अवसरमा सो अस्पतालले आफूलाई थप सबल बनाउन सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै अस्पतालले दिदै आएको सेवा माथि समीक्षा समेत गर्दै बागमति प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएका हुन ।


सो अवसरमा विरामीलाई फलफूल वितरण र अस्पतालको निरिक्षण समेत गर्दै स्वास्थ्य मन्त्री जोशीले बागमति प्रदेश सरकारले जेष्ठ नागरिक, अपांग अशक्त, जनावरबाट घाइटे भएका लगायतका समुदायको निःशुल्क औषधी उपचार गर्ने तयारी थालेको जनाए । स्वास्थ्य विमा मार्फत जनताको स्वास्थ्य उपचारमा पहुँच पुर्याउन अस्पतालहरुको स्तोनोतिकालागि पनि सरकारले पहल गर्ने बताउँदै मन्त्री जोशीले जनताको स्वास्थ्य सेवा प्रभावकारी बनाउनकालागि इमान्दारीताका साथ पारदर्शी र सुशासनलाई आत्मसाथ गर्दै आएको बताए ।
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी तथा सामुदायिक अस्पताललाई विकास गरी जनताको स्वास्थ्य उपचार शुलभ बनाउन सकिने धारणा व्यक्त गर्दै सकेसम्म निःशुल्क र कम शुल्कमा स्वास्थ्य उपचार गर्ने भक्तपुनगरपालिकाको उदेश्य रहेको बताए । उहाँले राम्रोलाई राम्रो बनाउनु ठूलो कुरा नभएका तर भक्तपुर अस्पतालले ठूलो चुनौती पार गरेर उत्कृष्ठ अस्पताल बनाउन सक्नु प्रशंसनीय भएको बताए । अस्पताल राम्रो बनाउन ईमान्दार डाक्टर चिकित्सक, नर्स, कर्मचारीहरुको आवश्यकता रहेकोमा जोड दिदै नगर प्रमुख प्रजापतिले भन्नु भयो सेवा गर्ने भावना भएका चिकित्सकहरुले तहराबाट पनि अस्पताल सञ्चालन गर्न सक्छ । ठूलो भवन भएर मात्र हुँदैन । अस्पतालमा जनताको स्वाथ्य सेवामा समर्पित डाक्टर चिकित्सक, नर्स र कर्मचारीहरुको दरवन्दी पर्याप्त हुनुपर्नेमा उहाँले जोड दिनु भयो । नगर प्रमुख प्रजापतिले भक्तपुरका जनताकालागि सरकारी र सामुदायिक अस्पतालले महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गरेको डाता प्रस्तुत गर्दै ख्वप अस्पतालले पनि सेवा प्रभावकारी बनाउँदै नगरवासीहरुकालागि निःशुल्क अक्सिजन वितरण गर्दै आएको बताउनु भयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायष्ठको सभापतित्वमा आयोजित सो वार्षिकोत्सवमा बागमति प्रदेशका मुख्य मन्त्रीका सल्लाहकार डिबी ढकाल, बागमति प्रदेशका सांसद सुरेश श्रेष्ठ, भावना श्रेष्ठ, धन्यश्वरी प्रजापति, भक्तपुर पत्रकार महासंघका अध्यक्ष जगत प्रजापति सहितले आफ्नै जिल्लाको आफ्नो स्वास्थ्य जीवनसँग जोडिएको अस्पतालबाट थप परिस्कृतरुपमा जनतालाई पनि स्वास्थ्य सेवा पुर्याउनकालागि पनि आआफ्नो क्षेत्रबाट सक्ने सहयोग र पहल गर्ने बचनबधता व्यक्त गरेका थिए ।
अस्पतालका मेसु डाक्टर सुमित्रा गौतमले आज भन्दा ११९ वर्ष पहिले चन्द्र लोकको नामले स्थापना भएको भक्तपुर अस्पतालको विकासक्रम बारे चर्चा गर्दै उत्कृष्ठ अस्पतालको रुपमा हाँसिल गरेको उपलब्धीलाई संरक्षण गर्दै स्वास्थ्य सेवा दिन थप जनशक्ति र सेवा विस्तारको आवश्यकतामा जोड दिनु भयो । तहरामा राखेर आसियु सञ्चालन गर्नु परेको पीडा सुनाउनु भयो । अनि देशकै उत्कृष्ठ अस्पताल बनाउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहित सहयोगि व्यक्तित्व र निकायहरुको प्रसंशा गर्नु भयो । डाक्टर गौतमले श्रावण महिनाबाटै भक्तपुर अस्पतालले घाटीमा अड्किने चिज निकाल्ने रांसोस्पी सेवा पनि सुरु गर्ने तयारी पूरा गरेको उल्लेख गर्दै उहाँले मुटु रोग र नसा रोग सम्बन्धि विशेष स्वास्थ्य सेवा विस्तारका लागि पहल भइरहेको र सबै क्षेत्रबाट सहयोग हुने विश्वास व्यक्त गर्नु भयो । वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई मन्त्री जोशीले सम्मानित गरेको थियो ।
यस भन्दा अगाडी भक्तपुर अस्पतालले आजै पत्रकार सम्मेलन गरी अस्पतालले दिदै आएको स्वास्थ्य सेवा बारे जानकारी गराएका थिए । यसै अवसरमा भक्तपुरका क्रियाशिल पत्रकारहरुको ब्लड प्रेसर, रगत परीक्षण, एक्स्रे, भिडियो एक्स्रे, फोक्सो परीक्षण सहित होलबदी परीक्षण शिविर आयोजना गरेको थियो । सो शिविरमा तीन दर्जन पत्रकारहरुले स्वास्थ्य परीक्षण समेत गराएका थिए ।