नगर प्रमुख प्रजापतिसँग दोलखाको राजकुलेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरुको साक्षात्कार

भक्तपुर । २०७९ फागुन १९ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दोलखाको भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर आधारभूत विद्यालय कक्षा ७ र ८ का विद्यार्थीहरुद्वारा शुक्रबार नगरपालिकाको सभाकक्षमा साक्षात्कार गरेको छ ।
विद्यालयका प्रअ प्रकाश दाहाल र व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानसहित करिब ४० जनाको टोलीले शुक्रबार नगर प्रमुखसँग भेटी नगरपालिकाकाले विशेषगरी शिक्षा क्षेत्रमा गरिरहेको असल र उदाहरणीय कार्यहरुबारे आवश्यक जानकारी प्राप्त गर्यो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई स्वागत गर्दै भक्तपुर नपाले हाल ७ वटा शैक्षिक संस्था स्थापना गरी देशभरका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरुमा ७३ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले गरिब विद्यार्थीहरुलाई शैक्षिक ऋण, इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा अध्ययन गर्ने नगरबासी विद्यार्थीहरुलाई विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गर्नुका साथै सहुलियत दरमा शैक्षिक ऋणको समेत व्यवस्था गर्दै आएको छ भननुभयो ।


भक्तपुर नपाले भक्तपुरका सामुदायिक विद्यालयहरुलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार निर्माण, आर्थिक अनुदान, शिक्षक तालिम दिनेलगायतको काम गर्दै आएको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले भन्नेभयो, विदेशी सहयोगविना नै हामी भक्तपुरलाई आत्मनिर्भर बनाउने उद्देश्यले अगाडि बढिरहेका छौं ।
भक्तपुर नगरपालिकाले आफ्ना गतिविधि प्रचारप्रसारको निम्ति सञ्चारमाध्यमको सशस्त प्रयोग गर्दै आएको बताउँदै अहिले विद्यालय तथा कलेजहरुमा छात्रा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्नुभयो ।
सोही क्रममा राजकुलेश्वर विद्यालयका प्रअ प्रकाश दाहालले अध्ययन भ्रमणको उद्देश्यमाथि प्रष्ट पार्दै कक्षा ७ र ८ मा अध्ययतरत विद्यार्थीहरुलाई शैक्षिक अध्ययन भ्रमण र भूगोलको अध्ययनको सिलसिलामा देशकै नमुना नगरपालिकामा भ्रमण गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानले भक्तपुरको शिक्षा क्षेत्र देशकै लागि नमुना भएको बताउँदै यहाँबाट धेरै कुराहरु सिक्न र अनुभव गर्न पाएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा नगर समितिका अधयक्ष नारायणबहादुर दुवालले पनि बोल्नुभएको थियो भने सहभागी विद्यार्थीले दोलखाली भाषामा गीत प्रस्तुत गरेका थिए ।
नगर प्रमुख प्रजापतिले प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई भक्तपुर नपाको प्रकाशन उपहारस्वरुप प्रदान गर्नुभयो । सोही क्रममा भक्तपुर नपा पर्यटक सूचना केन्द्र प्रमुख गौतमप्रसाद लासिवलो उक्त टोलीलाई भक्तपुर दरबार क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गराउनुभएको थियो ।