मध्यपुर र चाँगुको अन्तिम मत परिणाम

मध्यपुर र चाँगुको अन्तिम मत परिणाम

मध्यपुर र  चाँगु नारायण नगरपालिकाको मत गणना सकिएको छ । अन्तिम मतगणना अनुसार मध्यपुर थिमीको प्रमुखमा सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा विजयकृष्ण श्रेष्ठले जितेको छ भने चाँगुनारायण नगरपालिकाको प्रखुममा जीवन खत्री र उपप्रमुखमा रमेश बुढाथोकीले जितेले जितेको छ ।

मध्यपुरथिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले नेकपा –(एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मताअन्तरले पछाडि पार्दै सुरेन्द्र निर्वाचित हुनुभएको हो । कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गर्नुभयो । एमालेका मदनसुन्दरले विसं २०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजय हुनुभएको थियो । यसपटकको निर्वाचनमा भने उहाँ आफ्नै जेठानसँग पराजित हुनुभयो । उपप्रमुखतर्फ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपालले आठ हजार ९६३ मत प्राप्त गर्नुभयो । मध्यपुरथिमिमा नौवटा वडामध्ये कांग्रेसले १, २, ३, ५, ६ र ९ वडामा विजय भएको छ । वडाध्यक्षतर्फ मध्यपुरथिमिको वडा नं १ मा कांग्रेसका बाबुकाजी डङ्गोल, २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ, ३ मा कांग्रेसका कृष्णहरि आचार्य, ४ मा एमालेका बालकृष्ण श्रेष्ठ, ५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ, ६ मा कांग्रेसका ज्ञानदास प्रजापति, ७ मा एमालेका कृष्णकुमार प्रजापति, ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ र ९ मा कांग्रेसकै सानुकाजी राजबाहक विजयी हुनुभएको छ । नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिका सभापति हरिदास प्रजापतिले बहुमत जनप्रतिनिधि कांग्रेसबाट विजयी भएको भन्दै नगरपालिकाको विकासमा सबैसँग हातेमालो गर्दै पार्टीको नीतिअनुसार जनप्रतिनिधि अगाडि जाने विश्वास व्यक्त गर्नुभयो । मध्यपुरथिमि नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव सिलवालले मध्यराति १ बजे मध्यपुरथिमि नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गर्नुभयो । यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोग्नुभएकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । त्यसैगरी उपप्रमुखमा एमालेकै रमेश बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी हुनुभयो भने कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गर्नुभयो । नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले आठ हजार ६७ मत प्राप्त गर्नुभयो भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिनुभएका केशवप्रसाद तिमिल्सनाले तीन हजार २६७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले छ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले तीन हजार ३७४ मत प्राप्त गर्नुभयो । त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी हुनुभएको छ ।