आगामी वर्ष विज्ञापन प्रर्वधन बर्ष हुने विज्ञापन बोर्डको भनाई
रेडियो र टेलिभिजनको क्षमतावृद्धिकालागि दुई दिने तालिम सुरु
काठमाण्डौ, माघ ८ गते
आगामी वर्षलाई विज्ञापन प्रर्वधन वर्षको रुपमा मनाउने भएको विज्ञापन बोर्डले जनाएको छ । बोर्डले आज काठमाण्डौमा रेडियो र टेलिजिनको व्यवसाय प्रवर्धनमा संलग्न जनशक्तिको क्षमता विकास गर्न आयोजित दुई दिने तालिमको उद्घाटनको अवसरमा सो कुरा बताएका हुन । विज्ञापनदातालाई विज्ञापनमा आकर्षित गर्न, प्रशारित विज्ञापनहरुलाई व्यवस्थित तथा मर्यादित बनाउन तथा सञ्चार माध्यमलाई व्यवस्थित र गुणस्तरी बनाउन विज्ञापन वर्ष मनाउने तयारी भएको जनाएको हो । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईको सभापतित्वमा भएको सो तालिमको उद्घाटन गर्दै नेपाल सरकारका प्रवक्ता तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जनतामा लोकतन्त्रको प्रत्याभूत गराउन सञ्चार माध्यम बचाउन विज्ञापन नीतलाई व्यवस्थित पार्नुपर्नेमा जोड दिएका थिए ।


सञ्चार मन्त्रालय र विज्ञापन बोर्ड मिलेर नीतिगत व्यवस्थापन गर्न लागि परेको बताउँदै मन्त्री शर्माले विज्ञापनको सिप, क्षमता, गुणस्तर बढाउन, व्यवस्थित गर्न तथा भ्रामक विज्ञापनहरु रोक्न विज्ञापन नीतिलाई मझभूत बनाउनुपर्नेमा जोड दिएका हुन । उहाँले अर्वौ रुपियाँको सरकारी विज्ञापन बजारमा गएको देखिएपनि बीचबाटै हराउने र सञ्चार माध्यमसम्म नपुगेर सञ्चारकमीहरुलाई पारिश्रमिक दिन समेत नसकिरहेकोले सरकारले विज्ञापन नियमावली संशोधन गरेको बताए । बहु विवाह, जातिय छुवाछुटका सामग्रीहरु समेत विज्ञापनका विषयहरु परेकाले यसमा नियमन र स्वीकृतिको आवश्यकतामा जोड दिदै सञ्चार मन्त्री शर्माले सञ्चार माध्यममा ब्यापक र फराकिलो तरिकाले बजार प्रवर्धनकालागि, क्षमतावृद्धिको तालिम सान्दर्भिक भएको बताए । तालिमले सञ्चार माध्यमलाई व्यवसायिक रुपले सञ्चालन गर्न मदत मिल्ने मन्त्री शर्माले विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा आनका अध्यक्ष सुदिप थापाले विज्ञापन बजार कुनै न कुनै ठाउँमा अलमलिएको अवस्थामा पाएको उल्लेख गर्दै आआफ्नो ठाउँमा प्रतिस्पर्धा गर्नु भन्दा सम्पूर्ण मिडिया मिलेर सह अस्तित्व स्विकारेर विज्ञापन प्रवर्धनबाट बाँच्ने आधार खोज्नुपर्नेमा जोड दिएका थिए ।
उहाँले भन्नु भयो, बजार कमजोर हुदा मिडिया पनि कमजोर हुन्छ ।
विज्ञापन वोर्डका सदस्य चेतन अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको सो तालिमको पहिलो दिनमा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले कसरी रेडियो र टेलिभिजनले गुणस्तरीय कन्टेन र मार्केटिङ्ग गर्न सकिन्छ? भन्ने धारणाका साथ प्रशिक्षण दिएका थिए भने अर्का प्रशिक्षक सुजनराज श्रेष्ठले मिडिया मार्केटिड्गमा विज्ञापन दाता र स्रोताहरुको अन्तर सम्बन्धबाट मिडियाको विज्ञापन प्रर्वधन के कसरी गर्न सकिन्छ ?भन्ने विषयमा प्रशिक्षण दिएका थिए । उहाँले प्रिमियर कन्टेन र कार्यक्रमहरुले विज्ञापन प्रायोजनहरु बढाउन सकिने बताएका थिए । यसै बीच प्रशिक्षक विरात श्रेष्ठले रेडियो, टेलिभिजनमा विज्ञापन संकलन, प्रवर्धन कसरी प्रभावकारी गर्न सकिन्छ? भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।














