क्वान्टिटेटिभ एण्ड क्वालिटेटिभ रिसर्च विषयक तीनदिने कार्यशाला गोष्ठी सम्पन्न

क्वान्टिटेटिभ एण्ड क्वालिटेटिभ रिसर्च विषयक तीनदिने कार्यशाला गोष्ठी सम्पन्न
२०७८ असोज २४ गते, आइतबार
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा क्वान्टिटेटिभ एण्ड क्वालिटेटिभ रिसर्च विषयमा भएको तीनदिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र सञ्चालित कलेज तथा विद्यालयबाट उत्पादित जनशक्ति प्रतिस्पर्धी र इमानदार हुनुका साथै उनीहरुलाई देश र समाजप्रति उत्तरदायी भएर काम गर्ने भावना उजागर गर्नुपर्ने बताउनुभयो ।

वागीश्वरीले आगामी दिनहरुमा नयाँ नयाँ विषय र क्षेत्रमा अनुसन्धान गर्दै जानुपर्नेमा जोड दिनुहुँदै उहाँले शेयर कारोबारले युवाहरुलाई पैसा कमाउने लोभमा गलत बाटोमा दोहोर्याइरहेको हुँदा शिक्षित वर्ग यसबारे सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले सर्वोच्च अदालतलाई कानुनको व्याख्या गर्ने अधिकार मात्र भएको तर वर्तमान अवस्थामा अदालतले राज्यशक्ति नै हातमा लिन गलत बाटो अँगालिरहेको बताउनुभयो ।
कार्यक्रममा स्रोत व्यक्ति डा. बलराम दुवालले अनुसन्धानमा आधारित कार्याशाला गोष्ठीले प्राध्यापकहरुको शिक्षण सिकाइ गतिविधिलाई मलजल गर्ने बताउनुहुँदै अनुसन्धान क्षेत्रमा नयाँ नयाँ गोष्ठी तथा सेमिनारहरु गर्दै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा आरएमसीका संयोजक सिद्धिबीर कर्माचार्य, गोष्ठीमा सहभागी काभ्रे बहुमुखी क्याम्पसका सन्जय श्रेष्ठ, कार्यक्रम संयोजक शिवबहादुर खुलीमुली र राजन चौगुठीले पनि बोल्नुभएको थियो । सोही क्रममा प्रमुख अतिथि प्रजापतिले गोष्ठीमा सहभागी प्राध्यापक तथा कर्मचारीहरुलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो ।