नेमकिपाको आठौं महाधिवेशनले विजुक्छेको अध्यक्षतामा २९ सदस्य नयाँ कार्य समिति एकमनले चयन
भक्तपुर, फाल्गुण २०गते
नेपाल मजदुर किसान पार्टीको आठौं अधिवेशनबाट पार्टीका संस्थापक अध्यक्ष नारायणमान विजुक्छेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनबाट २९ सदस्य र ४ बैकल्पिक सदस्य सहितको नयाँ कार्य समिति चयन गरेको हो । फाल्गुण १६ गते देखि सुरु भएको महाधिबेशनलाई आज सम्पन्न गर्दै अध्यक्ष विजुक्छेले नयाँ कार्य समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । महाधिवेशनको समापन पश्चात पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष विजुक्छेले पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा आठौं अधिवेशन गरी पार्टीले राष्ट्रिय, अन्तराष्ट्रिय विषयहरुमा छलफल गर्दै एकमनले नयाँ नेतृत्व चयन गरेको बताउनु भयो । पहिले भन्दा अझ बढी जिम्मेबारीपूर्वक कामलाई अगाडी बढाउने सपथ लिंदै नयाँ कार्य समिति गठन भएको उहाँले बताउनु भयो ।


पहिलो प्रदेश समिति सक्रिय नभएको अवस्थामा यो अधिवेशनले प्रदेश समितिहरु पनि बनेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले प्रदेश समितिहरुले प्रदेश प्रदेशमा जनताहरुलाई राजनैतिक रुपले सचेत पार्ने बताउनु भयो । अध्यक्ष विजुक्छेले भन्नु भयो देश र जनताको सेवाकालागि पहिले भन्दा अहिले दुर्ततरगतिमा अझ काम गर्ने छौं । यसले पार्टीलाई भन्दा देश र जनताको हित हुने छ ।
पत्रकारहरुको प्रश्नहरुमा अध्यक्ष विजुक्छेले देशमा धेरै ठूलठूला सुन्न र भन्न पनि नसक्ने भ्रष्टाचारहरु भएको चर्चा गर्दै देशका राष्ट्र प्रमुखहरुमा अन्तराष्ट्रिय अध्ययन र ज्ञानको अभाव भएको भन्दै अध्यक्ष विजुक्छेले देशका लागि मर्ने राष्ट्रपति र प्रधानमन्त्रीहरुको बारेमा ज्ञान नभएकोले यस्तो भएको हुन सकने बताउनु भयो ।
आठौं अधिवेशनबाट नारायणमान विजुक्छे रोहितको अध्यक्षतामा गठित नयाँ समितिको सचिवमा प्रेम सुवाल, कोषाध्यक्षमा मोहन प्रजापति, सदस्यहरुमा सुनिल प्रजापति सहित २१ जना छन् भने अन्य ४ जना बैकल्पिक सदस्यका साथै प्रदेश समितिहरुमा कोशी प्रदेशको उकेश कवां, मधेश प्रदेशको सुनिल प्रजापति, बागमती प्रदेशको प्रेम सुवाल, गण्डकी प्रदेशको डिल्लीप्रसाद काफ्ले, लुम्विनी प्रदेशको हरिसुन्दर बासी, कर्णली प्रदेशको सरोजराज गोसाई र सुदुर पश्चिम प्रदेशको नवराज कोइराला संयोजकमा चयन गरेका छन्।














