आज ङातापोल मन्दिरको ३२१ औं बुसादा
भक्तपुर, असार १६ गते
भक्तपुरको ऐतिहासिक पाँच तल्ले (ङातापोल) मन्दिर स्थापना भएको ३२० वर्ष पूरा भएको छ । आज सो मन्दिरमा झण्डातोलन गर्दै स्थापना दिवस (बुसादा)मनाएको हो । विश्व सम्पदा सूचीमा समेत सूचीकृत पाँच तल्ले मन्दिरको स्थापना नेपल संबत ८२२ मा भएको मानिन्छ । सम्पदा निर्माणको स्वर्णीमयुगको रुपमा रहेको मल्लकालिन सभ्यताको उच्चकोटीको काष्ठकला र वास्तुकलाको अनुपम नमुनाको रुपमा ङातापोल मन्दिरलाई लिने गरिन्छ ।
राजा भूपतेन्द्र मल्लले ऋणधन लिएर भए पनि सो मन्दिर ६ महिनामा पूरा गरेको मानिन्छ । पेगोडा शैलीमा निर्मित सो मन्दिर नेपालकै सबैभन्दा अग्लो र नक्सा बनाएर मात्रै निर्माण गरेको पहिलो मन्दिरको रुपमा रहेकोछ । पाँच ठूला खुट्किलामाथि पाचँ तल्लाको छाना छाँएर सुनौलो गजुरले सजिएको सो मन्दिर भित्र सिद्धिलक्ष्मीको पूर्ति बिराजमान गराइएको छ । वर्षको एक दिन आजको दिनमा मात्रै खोलिने सो मन्दिरमा हरेक दिन पूजारीले पूजा आरधाना गर्ने प्रचलन रहि आएको छ । सो मन्दिरलाई तान्त्रिक देवीको रुपमा पूजिने गरिन्छ । मन्दिर प्रवेस गर्ने खुट्किलाहरुमा कुटुव, हाति, सिंह सहित ढुंंगाका ५ प्रसर मुर्तिहरुले झनै मन्दिरको सौदर्यता बढाइ रहेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गरिरहेको छ । २०७२ सालको विनासकारी भुकम्पले क्षति पुगेको सो मन्दिरलाई ४ हजार भन्दा बढी श्रमदान गरी हालै भक्तपुर नगरपालिकाले ८ महिना लगाएर जिर्णोद्धार सम्पन्न गरेको थियो ।
आज मन्दिरको सरसफाई गर्दै गजुरमा झण्डातोलन गरी मन्दिर दुरुस्त छ भन्ने सन्देश दिने गरी नेवार समुदायको परम्परा अनुसार बुसादा मनाएको हो ।