भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ४ वर्ष कार्यक्रम तथा बर्षको उत्कृष्ट खेलाडी, रेफ्रि तथा निर्णायक तथा प्रशिक्षक प्रशिक्षणहरूलाई सम्मान
२०८३ जेठ ६
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नपाको आयोजनामा २०८२ सालमा भक्तपुर जिल्लाबाट बिभिन्न खेल प्रतियोगितामा सहभागी भई पदक प्राप्त गरेका बर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि र निर्णायक तथा प्रशिक्षक प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षकहरुलाई सम्मान कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ४ वर्ष कार्यक्रमको अवसरमा भक्तपुर नपाले यस बर्ष खेलाडी, रेफ्रि र निर्णायक तथा प्रशिक्षक प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षक गरी १११ जनालाई सम्मान ग¥यो ।
कार्यक्रममा बोल्दै सचिव सुवालले खेलकुद स्वास्थ्य, अनुशासन र सार्वभौमिकताको निम्ति खेलिनुपर्ने बताउँदै विद्यालय तहदेखि खेलकुद विषयलाई प्राथमिकताका साथ समेटिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले आफ्नो घोषणापत्रअनुसार काम गर्दै प्रत्येक वर्ष खेलाडी सम्मान कार्यक्रम गरी खेलाडीहरुलाई उत्साहित गर्दै आइरहेको बताउँदै उहाँले आगामी दिनहरुमा अझ जनताको हितमा राम्रा राम्रा काम गर्न प्रेरित गर्नुभयो ।
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्ने समिति गठन भए पनि समयमै प्रतिवेदन सार्वजनिक नहुँदा घटनामा संलग्न धेरै व्यक्तिहरु निर्वाचनमा होमिएको उहाँले बताउनुभयो ।
नेपालमा अमेरिकी साम्राज्यवाद र विस्तारवादको दबाबमा निर्वाचन भएको पछिल्लो घटनाक्रमले प्रष्ट पारेको बताउँदै उहाँले युद्धले कसैको हित नगर्ने हुँदा यसको विरोध सबैले गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको इमानदारीपूर्वक सेवा गर्ने बाहेक जनप्रतिनिधिहरुको अरु कुनै छुट्टै स्वार्थ नभएको बताउँदै भक्तपुर नपाले जनताको आलोचना र सुझावहरुलाई आत्मसात गर्दै निरन्तर सेवामा समर्पित भएर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, भौतिक पूर्वाधार निर्माणलगायत संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माणका कार्यहरु गर्दै आएका बताउँदै उहाँले भक्तपुर नपाले निरन्तर खेलाडी र सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, स्थानीय तहको स्वायत्तताको लागि हामीले लामो समयदेखि आवाज उठाउँदै आएका छौं । हरेक सरकारले स्थानीय तहलाई केन्द्रको मातहतको एउटा निकाय वा आदेश पालकको रुपमा व्यवहार गर्दै आएको छ ।
बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले गर्दै आइरहेको उदाहरणीय कार्य मध्ये खेलाडी सम्मान कार्यक्रम पनि एक हो भन्दै विद्यालयहरुको खेलमैदान नै खेलाडीको पहिलो कभर्ड हो भन्नुभयो ।
उहाँले खेलाडीको विकासमा राज्य जिम्मेवार नभएसम्म खेलकुद क्षेत्रलाई अपेक्षित रुपमा अगाडि बढाउन नसकिने बताउँदै देशका प्रतिभाशाली खेलाडीहरु देश छोडेर विदेशी अन्तर्राष्ट्रिय जगतको प्रतिनिधित्व गरी खेल्नु खेलाडीको निम्ति राज्यले प्राथमिकता नदिनु हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमख रजनी जोशीले भक्तपुर नपाले नपाको मापदण्डअनुसार मौलिक शैलीम भवन निर्माण गर्नेलाई अनुदानको व्यवस्था गर्दै आएको बताउँदै भक्तपुर नपाले खेलकुद क्षेत्रलाई अझ शक्ति रुपमा अगाडि बढाउन खेलकुद क्षेत्रलाई प्राथमिकता दिनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोद चरण रायले वर्ष उत्कृष्ट खेलाडीहरु घोषणा गर्दै सबैमा बधाईज्ञापन गर्नुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाको खेलकुद समितिलाई सक्रिय बनाउँदै खेलाडीको मनोबल बढाउन यस किसिमका गतिविधि अति आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि बोल्नुभएको थियो ।
सोही कार्यक्रममा प्रमुख अतिथि सुवालले भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्ड अनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका वडा नं. १ का सन्दिपकुमार जोन्छेलाई रु. १ लाख ४१ हजार, वडा नं. ३ का सर्जुमैंया अमात्य हाडा र शिवसुन्दर हाडालाई रु. १ लाख ९६ हजार, वडा नं. ५ का बुद्धलक्ष्मी मचामसीलाई रु. २ लाख ३१ हजार, वडा नं. ४ का प्रविनसिंह राठौर, सुधिरसिंह राठौर र पुरन्द राठौरलाई रु. २ लाख ९१ हजार, वडा नं. ३ का गिरीगोविन्द सिलाकारलाई रु. ३ लाख, वडा नं. ४ का इन्द्र सिंख्वाललाई रु. २ लाख ७७ हजार, वडा नं. ५ का सुनमाया खाइतुलाई रु. १ लाख ६८ हजार, वडा नं. ७ का गितामैंया न्हिसुतु प्रधानलाई रु. २ लाख ४ हजार गरी जम्मा रु. २१ लाख ११ हजार १३४ रुपैयाँ बराबर मोहडातर्फ प्रयोग हुने काठ, ईटा र झिंगटी खरिदको लागि अनुदान स्वरुप प्रदान गरिएको थियो । साथै उत्कृष्ट खेलाडीहरुलाई सम्मान पनि प्रमुख अतिथि सुवालले गर्नुभएको थियो ।










