गुठी जग्गामा पनि किसानको स्वामित्व सम्मान हुनुपर्नेमा जोड

गुठी जग्गामा पनि किसानको स्वामित्व सम्मान हुनुपर्नेमा जोड

भक्तपुर, जेष्ठ ५ गते ।
नेपाल क्रान्तिकारी किसान संघले आज गुठीको जग्गामा पनि मोहियानी हक हुनुपर्नेमा जोड दिदै आज जिल्ला प्रशाशन कार्यालय भक्तपुर र गुठी संस्थान जिल्ला शाखा कार्यालय सूर्यविनायक भक्तपुरलाई छुटाछुटै ज्ञापनपत्र बुझाएको छ । किसानका विभिन्न समस्याहरु सरकार समक्ष पुरयाउन भक्तपुरका प्रमुअ जिल्ला अधिकारी र गुठी प्रमुख कर्मार्चाय समक्ष ज्ञापनपत्र बुझाएका हुन । देको–मिवा–ईटापाके आवास योजना क्षेत्रका गुठीका किसानहरुले आवास योजनाबाट काटिएको जग्गा र बाँकी रहेको जग्गाको समान हक कायम गर्नुपर्ने भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन ।


विद्यमान गुठीको नियमले सरकारी अधिकरणमा परेको गुठीको जग्गामा किसानले एकतिहाई मात्रै पाउने र आवास योजनामा परेको जग्गाको सम्बन्धमा बाटोमा परेको जग्गाको तीन भाग मध्ये २ भाग गुठीको नाममा फिर्ता दिनुपर्ने र वाँकी एक भाग किसानको नाममा लगत कट्टा हुने र बाँकी जग्गा यथावत किसान र गुठीको नाममै रहने भनि गुठी संस्थान भक्तपुरले जानकारी दिएपछि यो नीति किसानकालागि अन्याय पूर्ण भएको भन्दै किसानहरुले विरोध जनाएका हुन ।
आवास योजनाबाट बाटो, ढलसहितको सुविधा हुने भएपछि गुठीको जग्गामा किसान र गुठीको सम्मान जग्गा कट्टा हुनुपर्ने र वाँकी जग्गा रैतानी हुनु पर्नेमा कृषकहरुले जोड दिएका थिए । बाटोको सुविधा लिने तर जग्गा कट्टा नगर्ने गुठीको नीति व्यवहारिक नभएको भन्दै सम्मान रुपमा जग्गा कटौतीको व्यवस्था गर्न आग्रह गरेका हुन । स्थानीय वडाध्यक्ष हरिराम सुवालले गुठीको नीितमा एउटा व्यवस्था र व्यवहारमा गुठीले दिई आएको जानकारी फरक भएको भन्दै यसले किसानहरुलाई बेफाइदा हुने नेक्राकिसंघले बाध्य भएर ध्यानाकषर्ण गराउन ज्ञापन पत्र बुझाएको बताउनु भयो । किसान नेता एवं जनप्रतिनिधी गोविन्द दुवालले पनि गुठीलाई धनि बनाउने र किसानले पनि आफ्नो स्वामित्व पाउने गरी गुठीको जग्गा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । सरकारले जग्गामा द्वैत स्वामित्व हटाउने तयारी थालेको भन्दै विद्यमान नीतिगत सुधार नभएसम्म किसानका जायज माग सम्बोधन गर्न नसकिने अवस्था रहेकोे र माथिलो निकायमा किसानका मागहरु बारे ध्यानाकर्षण गराउने कार्य भन्ने गरिने गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख अन्नद कर्माचार्यले जनाएको छ ।
जिल्लाको गुठीले किसानका समस्या सम्बोधन नगरे माथिलो निकायमा पनि ज्ञापन पत्र बुझाउन जान्न किसानहरु तयार भएको भन्दै नेक्रासिसंघका पदाधिकारीहरुले गुठीको जग्गामा पनि मोहियानी हक कायम हुनुपर्ने किसानले आफ्नो जग्गा आफ्नो नाममा राख्न पाउनुपर्नेमा जोड दिएका थिए । सो विषयमा आजै भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल समक्ष पनि ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र
नेपाल क्रान्तिकारी किसान संघले नेपालको किसानहरूका समस्याहरू लिई नेपाल सरकारको समय समयमा ध्यानाकर्षण गर्दै आएको छ । विगतमा नेपाल क्रान्तिकारी किसान संघले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी पार्टीको सरकारसँग पनि किसानहरूको समस्यालाई लिएर समय समयमा ज्ञापनपत्र दिँदै आएका थियौं । वर्तमान समयमा पनि निम्न माग राखी ज्ञापनपत्र दिन आएका छौं ः
१. भक्तपुर नगरपालिका अन्तर्गत व्यवस्थित आवास योजनाको लागि सञ्चालित देको–मिवा–ईटापाके आवास योजनाले पूर्वमा देकोचाबाट बौको जाने बाटो, पश्चिममा निकोसेरा जाने सडक, उत्तरमा खस्याङखुस्युङ खोला र दक्षिणमा नगरकोट जाने सडक बीचको चारकिल्ला भित्रको १६५४ रोपनी जग्गामा व्यवस्थित आवास योजना सञ्चालनमा रहेको छ । देको–मिवा–ईटापाके आवास योजनाले जग्गा धनी तथा मोहीहरूको जग्गा फिर्ताको लागि नक्सा प्रकाशित गरेको र हालसम्म ५२ प्रतिशत जग्गा धनीहरूलाई आवास योजनाले पुर्जासमेत फिर्ता भई कतिपय जग्गा धनीहरूले घरसमेत निर्माण गरिसकेको छ । उक्त प्रकाशित नक्सामा गुठीको नाममा रहेको जग्गाका मोही किसानहरूलाई पनि आवास आयोजना नीतिअनुसारनै जग्गा कटौती गरि जग्गा फिर्ता गरिएको छ । यस आवास क्षेत्रका गुठी जग्गा गरिरहने मोही किसानहरूलाई जग्गा फिर्ता नदिई आवास योजनाबाट नीति अनुसार कटौती गरिएको जग्गा गुठी संस्थानले नभ्याउनेसै र उक्त जग्गाको मूल्य मोही किसानलाई तिर्न वा आवास योजनाले व्यहोर्नको लागि पत्राचार गरिएको छ । यस पत्रचारले मोही किसानहरूलाई गुठी संस्थान, भक्तपुरले मोही किसानहरूलाई जग्गा फिर्ता नदिई आवास योजनाबाट नीति अनुसार कटौती गरिएको जग्गा गुठी संस्थानले नभ्याउने र उक्त जग्गाको मूल्य मोही किसानलाई तिर्न वा आवास योजनाले व्यहोर्नको लागि भन्दै पुर्जा फिर्ता गर्न सिफारिस नगरे अवस्था छ । उक्त कदमले मोही किसानहरूको सम्पत्तिसम्बन्धी अधिकार हनन हुन गएको तर्फ नेपाल क्रान्तिकारी किसान संघको ध्यानाकर्षण भएको छ । जुनसुकै आवास आयोजना भनेको व्यवस्थित वसाईको लागि गरिने र गुठी जग्गापनि यसबाट विमुख हुन नसक्ने हुँदा गुठीको जग्गामा पनि व्यवस्थित आवास योजना संचालन गर्न अनुमति दिई अन्य जग्गा धनीकै साविकमा गुठी जग्गामा पनि गुठी र मोहीको समानुपातिकरुपमा बराबर आयोजनाको नीतिअनुसार जग्गा कटौती गरि पूर्जा फिर्ता गर्ने व्यवस्था गर्नको लागि आवश्यक पहल गरि दिनु हुन नेपाल क्रान्तिकारी किसान संघ जिल्ला प्रशासन कार्यालय, भक्तपुरमार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
गुठी संस्थान संचालक समितिको बैठक नं. ४१५ मिति २०८२ फागुन १२ गते बसेको बैठकले गुठी जग्गामा बाटो कायम गर्ने सम्बन्धी कार्यविधि, २०७३ को दफा ६ संशोधन गरि “नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई गुठी अधीनस्था जग्गा समेत पर्ने गरी जग्गा एकीकरण आयोजना सञ्चालन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास समितिलगायत सरकारी निकायबाट सहमति माग भएमा जग्गा एकीकरण प्रक्रियामा योगदानवापत कट्टा हुने कुल गुठी जग्गाको कम्तिमा छैंसठ्ठी प्रतिशत क्षेत्रफल सोही आयोजनाभित्र विकसित घडेरीको रुपमा छुट्टै कित्ता कायम गरी गुठी तैनाथीमा दर्ता गर्ने गरी सहमति दिईनेछ । त्यसरी कायम गरिएको गुठी तैनाथी तर्फको दर्ता श्रेस्ता अद्यावधिक जारी सम्बन्धित आयोजनाले गुठी संस्थानलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउनु पर्नेछ ।” कायम गर्ने निर्णय गरेको छ । यस निर्णयले गुठी जग्गाका मोहीहरूको स्वामित्व पूर्णरुपमा उन्मुलन गरि गुठी संस्थानले मोहीहरूलाई जग्गाको स्वामित्व बेदखल गरेको छ । यसबाट नेपालको संबिधानले प्रदान गरेको मौलिक हकसमेत हनन हुने गई मोहीहरूलाई भूमिहिन बनाउने कार्य गरेको छ । यस तर्फ नेपाल क्रान्तिकारी किसान संघको ध्यानाकर्षण भएको छ । त्यसैले यस्तो मोही किसानहरूलाई भूमिहिन हुने गरि दफा संशोधन गर्ने गुठी संस्थानको कार्य प्रति खेद व्यक्त गर्दछ र गुठी जग्गा गरिरहेका मोही किसानको मोही हक आधा कायम गरि आवास योजनाको नियमअनुसार अन्य जग्गा धनीसरह जग्गा कटौती गरि गुठी संस्थानले लालपूर्जा फिर्ताको बन्दोवस्त गर्नको लागि माग गर्दछ ।