पुरुषोतम महिनाको अवसरमा लक्ष्मीनरसिंहमा एक महिने रुद्राभिषेक सुरु
भक्तपुर, जेष्ठ ३ गते
आजबाट एक महिने पुरुषोतम महिना सुरु भएको छ । चन्द्रमास अनुसार हरेक ३ वर्षमा एक महिना पुरुषोतम महिनाको रुपमा मनवास पर्व मनाउने परम्परा रहेको भन्दै पण्डित रमेशराज शर्माले जनाएको छ। पण्डित शर्माले यो महिना नारायणको रहेको चर्चा गर्दै नारायणको १० औं अवतार मत्स्य रहेकोले पुरुषोतम महिनाको महिमा अपार रहेको बताए । यसैक्रममा भक्तपुरको तौमढीस्थित गहिटीमा रहेको लक्ष्मीनरसिंह मन्दिर परिसरमा पनि आज पुरुषोतम महिनाको अवसरमा रुद्रभिषेक गरेको छ । आयोजक समितिका न्हुछेराम भेलेका अनुसार मन्दिर स्थापना पछि विश्व शान्तिकालागि रुद्राभिषेक गर्ने परम्परालाई पूरा गर्दै पुरुषोतम महिनाको अवसरमा एक महिने मेला आयोजना गरेको जनाएको छ ।


मन्दिर निर्माणपूरा गरेपछि मन्दिरको नियमित पूजापाठ व्यवस्थापनकालागि अक्षकोष समेत निर्माण गरी पूजारीको समेत व्यवस्था गर्ने तयारी रहेको उहाँले बताए । नेपालमै दुर्लभरुपमा लक्ष्मी नरसिंहको मन्दिर भक्तपुरमा रहेको चर्चा गर्दै यस मन्दिरको दर्शनले मनोकाक्षा पूरा हुने जनविश्वास रहेको उहाँले बताए । जनताको आर्थिक भौतिक सहयोगसँग भक्तपुर नगरपालिकाका आर्थिक प्राविधिक सहयोगमा निर्माण सम्पन्न पश्चात लक्ष्मी नरसिंह मन्दिरको महत्वलाई झल्काउन यस वर्षको पुरुषोतम महिनाभरी विहान ८ बजे देखि १० बजेसम्म रुद्राभिषेक र साँझ आरती एवं भजनकिर्तन कार्यक्रम आयोजना गर्ने गरी आजबाट पुरुषोतम मेला तथा रुद्राभिषेक कार्य सुरु भएको उहाँले जनाएको छ ।
यसै बीच भक्तपुरको महाकाली मन्दिर परिसरमा रहेको अँचा पोखरीमा पनि आजबाट मनवास मेला आयोजना गरेको छ । मनवास मेलाको अवसरमा सो मन्दिर परिसरमा भक्तजनहरुलाई व्यवस्थापन गर्न विभिन्न समिति उपसमितिहरु बनाएर मेला व्यवस्थापन गरिएको छ । यसै गरी आजबाट देशका विभिन्न क्षेत्रमा रहेको मत्स्य नारायण मन्दिरहरुमा पनि पुरुषोतम मेलाका विभिन्न धार्मिक कार्यक्रमहरु आयोजना गरिएका छन् ।














