भक्तपुर नगरमा यस वर्ष धिमे प्रतियोगिता आयोजना हुने

२०७६ पुस ११ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सांस्कृतिक उत्थानको निम्ति सांस्कृतिक गुरुहरुको भूमिका उल्लेखनीय रहेको बताउनुहुँदै नगरपालिकाले प्रत्येक वर्ष कुनै न कुनै बाजा प्रतियोगिता गर्ने नपाको घोषणापत्रमै उल्लेख भएको बताउनुभयो ।
नगरपालिकाको आयोजनामा शुक्रबार भएको सांस्कृतिक गुरु भेला कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आइसकेपछि बाँसुरी बाजा र धाँ बाजा प्रतियोगिता गरिसकेको र यस वर्ष धिमे प्रतियोगिता आयोजना गर्ने हुँदा सांस्कृतिक गुरुहरुको राय–सुझावलाई प्राथमिकता दिएर भेलाको आयोजना गरेको बताउनुभयो ।
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा ३२९ वर्ष पुरानो ऐतिहासिक र सांस्कृतिक नगरा पुनःस्थापना गरिसकेको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले युवा पुस्तालाई परम्परागत बाजाको महत्व र सीप हस्तान्तरणको निम्ति आवश्यक पहल गरिरहेको बताउनुभयो ।
भक्तपुरको चाडपर्वहरु, मौलिक जीवनशैली, संस्कार, दाफाभजन, गुठी, परम्परागत बाजागाजा संरक्षणमा भक्तपुर नपाले खेलिरहेको भूमिकाबारे प्रस्ट पार्दै उहाँले एक पुस्ताबाट अर्को पुस्तामा नटुट्ने गरी सीप हस्तान्तरण गर्नु नपाको उद्देश्य रहेको बताउनुभयो ।


कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई नाचगानको राजधानी र बाजागाजाको सहर बनाउन सांस्कृतिक गुरुहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला र भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सांस्कृतिक गुरुहरुद्वारा नपाको आयोजनामा हुने धिमे बाजा प्रतियोगिता भक्तपुर महोत्सवको समयमा गर्नु उचित हुने, प्रतियोगिताबारे व्यापक प्रचारप्रसार आवश्यक, नौ बाजालगायत लोपोन्मुख बाजाको प्रशिक्षण र संरक्षण, महिलाहरुलाई पनि वाद्यवादनमा समावेश गर्दै लानुपर्ने र वडामार्फत बाजाको प्रशिक्षण चलाउनुपर्नेलगायतका राय–सुझाव प्रस्तुत गर्नुभयो ।