पुनः निर्माण पश्चात जगाती प्रहरी बृत्त आज हस्तान्तरण

पुनः निर्माण पश्चात जगाती प्रहरी बृत्त आज हस्तान्तरण
भक्तपुर, कार्तिक ३ गते
पुनःनिर्माण पश्चात जगाती प्रहरी बृत्तलाई आज हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवी, उद्मीहरुको आर्थिक भौतिक सहयोगबाट पुनःनिर्मित सो बृत्तको आज नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई आज बृत्त परिसरमा आयोजित एक समारोह बीच हस्तान्तरण गरिएको छ । जनताको शान्ति सुरक्षाकालागि प्रहरीको भूमिका महत्वपूर्ण भएको अनुभूति जगाती प्रहरी बृत्त पुनः निर्माण समितिको सक्रियतामा गत भाद्र २७ गते देखि निरन्तररुपमा पुनःनिर्माण गरी आज सो बृक्तलाई हस्तान्तरण गरिएको हो । गत भाद्र २३ र२४ गतेको जेन्जी आन्दोलनकोक्रममा तोडफोड र आगजनीबाट ध्वष्ट भएको सो प्रहरी बृत ४७ लाख १४ हजार भन्दा बढी खर्चेर पुनर्निमाण गरेको समितिले जनाएको छ ।

आज आयोजित समारोह बीच जगती प्रहरी बृत्त पुनःनिर्माण गर्ने दाताहरुलाई आजै सम्मानित गरेका छन् । जगाती प्रहरी बृत्त निर्माण समितिले भक्तपुर ट्राफिक कार्यालय र डोलेश्वर प्रहरी चौकीको पनि पुनःनिर्माण कार्यमा योगदान गरेकाले थप १५ लाख भन्दा बढी आर्थिक भार परेको उल्लेख गर्दै सहयोग आउनेक्रम जारी रहेकाले सो कार्यालयहरुले पनि पुर्णता पाउने बताएका छन् ।
जगाती प्रहरी बृत्त पुनःनिर्माण कार्यमा जेष्ठ नागरिकले आफ्नो वृद्ध भत्ता समेत सहयोग गरेर, चाड पर्व नभनि आफ्नो गाँस, कपास र मनोरञ्जनलाई छोडेर प्रहरी बृत्त बनाउन सहयोग गरेको र दिन रात खतेको देखेर प्रमुख अतिथि कार्कीले यस्तो योगदान संसारमा दुर्लभ भएको बताउनु भयो । प्रहरी चाहिदैन भनिएपनि समाजलाई चाहिने रहेछ, अभिभावक भएसम्म आफूहरु सुरक्षित महसुस गरे जस्तै आज प्रहरी भएपछि मात्रै सुरक्षाको अनुभूती गर्दै प्रहरी बृत्त निर्माण कार्य धमाधम भएको प्रति खुसि व्यक्त गर्नु भयो । बाल बालिका देखि जेष्ठ नागरिकसम्मले र भावि पुस्ताको शान्ति सुरक्षाकालागि समेत प्रहरीको आवश्यकतालाई मनन् गरी समुदाय प्रहरी साझेदारीबाट प्रहरी सेवा प्रभावकारी बनाउन सकिने धारणा राख्दै प्रमुख अतिथि कार्कीले समाजमा केही अप्रिय घटना हुन लाग्यो भने भने प्रहरीलाई खवर गर्नु प्रत्येक नागरिकको कर्तव्य हो भन्नु भयो । हरेकले आफ्नो कर्तव्य निर्वाह गर्यो भने मात्रै समाजमा शान्ति सुरक्षाको अनुभूति हुने चर्चा गर्दै हरेक १०।१० वर्षमा भइरहेको जनआन्दोलन अर्थात जन आक्रोसलाई विध्वसात्मक नबनाउन बेलैमा सचेत हुन आग्रह गर्नु भयो । फेरी फेरी पनि यसैगरी विध्वस हुने हो भने यो पुनःनिर्माण गर्नुको औचित्य नहुने चर्चा गर्दै उहाँले नयाँ पुस्तालाई प्रहरी सेवाको प्रत्याभूति दिन र सार्वजनिक सम्पति सुरक्षा बारे सचेतना दिन आवश्यक भएकोमा जोड दिनु भयो । सो अवसरमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज घिमिरे, प्रहरी उपरिक्षक सूर्यवहादुर खड्काले पनि जिल्लाको शान्ति सुरक्षाको अवस्था बारे विश्लेषण गर्दै जिल्लाको शान्ति सुरक्षामा जन सहभागिता र सहयोगबाट जगाती बृत्त निर्माणले आशाको सन्देश फैलाएको बताएका थिए ।
समितिका अध्यक्ष कृष्णराम जाकीको सभापतित्वमा आयोजित सो कार्यक्रममा जनप्रतिनिधीहरुको तर्फबाट पुष्पराज बस्नेतले पनि बोल्नु भएको थियो ।


कार्यक्रम पूर्व जगाती प्रहरी वृत्तका डिएसपी चल्चला श्रेष्ठ सहितका प्रहरी जवानहरुलाई जेन्जी आन्दोलन पछि स्थापना गरिएको गणेश माविबाट जगाती प्रहरी बृत्त सम्म साँस्कृतिक बाजा सहित पद् यात्रा गरी जगाती प्रहरी वृत्तमा स्वागत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रहरी अरिक्त महानिरिक दानबहादुर कार्कीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गनुका साथै बृत्तको गेटमा रिवन काटेर पुनःनिर्मित भवनको उद्घाटन गर्नुका साथै शिलापत्र समेत अनावरण गर्नु भयो साथै सो अवसरमा प्रहरी वृत्त पुनःनिर्माण गर्न आर्थिक भौतिक सहयोग गर्नु हुने विभिन्न व्यक्ति संस्थाहरुलाई उहाँले दोसल्ला र खादा एवं प्रमाण पत्र सहित सम्मानित गर्नु भएको थियो ।