भक्तपुरमा चाडपर्व लक्षित बजार अनुगमन : अखाद्य मिठाई नष्ट, मिनरल पानी उद्योगलाई जरिवाना भक्तपुर, कार्तिक ३ गते — चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वयमा संयुक्त अनुगमन टोलीले भक्तपुरका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको छ।


मिति २०८२ कार्तिक ३ गते सोमबार, संयुक्त टोलीले कमलविनायक क्षेत्रमा रहेका विभिन्न मिठाई पसलहरूमा अनुगमन गरी चार वटा पसलबाट नमुना संकलन गरेको छ। सो क्रममा मोबाइल भ्यानमार्फत स्ट्राच टेस्ट गर्दा अखाद्य मिसावट भएको मिठाई भेटिएको थियो। अनुगमन टोलीले झण्डै २८५ केजी मिठाई भक्तपुर नगरपालिकाको सहयोगमा नष्ट गरेको र सम्बन्धित व्यवसायीलाई सुधारका लागि निर्देशन दिएको जनाएको छ। त्यसैगरी, मिति २०८२ कार्तिक २ गते आइतबार, टोलीले झैखेलस्थित दुई वटा मिनरल वटर उद्योगहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा Aqua Raj नामक उद्योगबाट उत्पादित पानीमा कैफियत पाइएको हुँदा सो उद्योगलाई रु. १५,००० (पन्ध्र हजार) जरिवाना गरिएको र आवश्यक सुधारका निर्देशन दिइएको छ। यो संयुक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय भक्तपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग तथा वाणिज्य कार्यालय, र जिल्ला प्रहरी परिसर भक्तपुर का प्रतिनिधिहरू सहभागी थिए। संयुक्त अनुगमन टोलीले चाडपर्वको समयमा उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित खाद्य सामग्री उपलब्ध गराउन बजार अनुगमनलाई अझ सशक्त बनाइने जनाएको छ।

















