दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन सुरु
ललितपुर, जेष्ठ ३० गते
नेवाः पत्रकार राष्ट्रिय दबुले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन ललितपुर सुरु भएको छ । प्रतिनिधी सभाका सभाध्यक्ष एवं सभामुख देवराज घिमिरेले पानसमा दिप प्रज्वलन एवं नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण मानन्धर र मातृभाषाका पहिलो पत्रकार धर्माधित्य धर्माचार्यको तस्विरमा माल्यार्पण गर्दै सम्मेलनको सुरु गरेका हुन ।


दबुका अध्यक्ष नृपेन्दलाल श्रेष्ठको सभापतित्वमा आयोजित सो सम्मेलनको पहिलो दिनको अवसरमा सार्वजनिक सेवा प्रसारण संस्था, राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल, गोर्खा पत्र संस्थान नेपाललाई मातृभाषा पत्रकारिताकलागि सम्मानित गर्दै पत्रकार सुरेशकिरण मानन्धरका पुस्तक विमोचन गरेर एवं मातृ भाषा पत्रकारिताको अवस्था र महत्वबारे अतिथिहरुको प्रवचन गर्दै सम्मेलनको उद्घाटन सत्र सम्पन्न गरेको थियो ।
सम्मेलनको उद्घाटन सत्र पश्चात मातृ भाषा संरक्षणकालागि पत्रकारिता विषयमा धर्मेन्द्र झा, सुरेशकिरण, दण्ड गुरुङ्ग, सुरजवीर बज्राचार्य, यसैगरी विश्वमा मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति विषयमा अमरध्वज लामा, उपेश महर्जन, पूर्णभक्त दुवाल सहित मातृभाषा पत्रकारिता अभियान्ताहरु बीच प्यानल डिस्कशन भएको थियो भने सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको उपलब्धि बारे वरिष्ठ पत्रकार पुष्कर माथेमा र धर्मादित्य देखि आजसम्म पत्रकारिताका विषयमा धर्मादित्यका नातिनी सृजना नेवाःबैद्यले प्रस्तुतिकरण गरी पहिलो दिन सम्पन्न गरेको थियो ।

भारत, बंगलादेश सहित ४० जना विदेशी मातृभाषा पत्रकारहरुको सहभागितामा आयोजित सो सम्मेलनको दोस्रो दिन भक्तपुरस्थित थिमीमा आयोजना हुने आयोजक दबुका केके मानन्घरले जनाएको छ। श्निबार भक्तपुरमा हुने दोस्रो दिनमा थिमी र भक्तपुरको अवलोकन भ्रमण, बहुल समाज विकासको लागि मातृभाषा पत्रकारिता, मातृभाषा पत्रकारिता विकासमा संस्थागत भूमिका, मातृभाषा पत्रकारितामा व्यावसायिकता, मातृभाषा पत्रकारितामा अन्तर्राष्ट्रिय अभ्यास घोषणापत्र जारी र सहभागीहरुलाई प्रमाण पत्र तथा मायाको चिनो वितरण गरी सम्मेलन सम्पन्न गर्ने छन् ।













