भक्तपुर बचतमा साइबर अपराध सम्बन्धी अभिमुखीकरण

भक्तपुर बचतमा साइबर अपराध सम्बन्धी अभिमुखीकरण
भक्तपुर, २९ जेठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको युवा उपसमितिको आयोजनामा अनाधिकृत रुपमा इन्टरनेटबाट सूचना चोरी हुनबाट सजग र सचेत तुल्याउन सदस्यहरुबीच साइबर अपराध सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले हाम्रो दैनिकीलाई कानुनी रुपमा सजग र सचेत गर्नुपर्ने अन्यथा कानुनी दण्ड सजाय भोग्न बाध्य हुने बताउनुभयो । उहाँले हामी क्लाउड्समा आबद्ध भैसकेपछि गोपनीयतालाई कायम गर्न सक्नुपर्ने बताउँदै नियतमै खोट भएका व्यक्तिले इन्टरनेट प्रविधिको दुरुपयोग गर्न सक्नेप्रति होशियार हुनुपर्ने औंल्याउनुभयो । संस्थाले वित्तीय साक्षरतासँगै शैक्षिक, सांस्कृतिक, सामाजिक, स्वास्थ्य, खेलकुदलगायतका समाज र सदस्यप्रति उत्तरदायी भई यस्ता कार्यक्रमको आयोजना गरिएको उहाँको कथन छ ।


जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरका प्रमुख न्यायधिवक्ता श्याम प्रसाद दाहालले साइबर अपराधसँग यौन अपराध र पैसा जोडिने भएकाले यसमा लाग्ने मानिसको सानै उमेरदेखि व्यक्तित्वमा ह्रास आउने बताउनुभयो । अपराधको मूल स्रोतको पहिचान र निराकरण गर्ने उपायबारे स्पष्ट पार्दै उहाँले साइबरसँग जोडिएर गरेका कुनै पनि गतिविधि भर्चुअल वल्र्डमा सुरक्षित हुने बताउनुभयो । उहाँले मूलुक नै कुटनीतिक रुपमा बलियो नभएसम्म साइबर अपराधको निराकरण गर्न नसक्ने बताउँदै राज्यले अपराध अनुसन्धान र विज्ञहरुलाई महत्व दिई लाग्नुपर्नेमा जोड दिनुभयो । साथै ‘अपराध नियन्त्रणमा नागरिकको सहभागिता’ भन्ने नाराका साथ नागरिकलाई कानुनी साक्षरता र सचेतना दिन यो कार्यक्रममा सहभागी भएको बताउँलै उहाँले आफ्नो मोबाइलबाट हुन सक्ने अपराधको जोखिमबाट टाढा रहन आफैले नियन्त्रणमा राख्नुपर्ने स्पष्ट पार्नुभयो ।
सहायक जिल्ला न्यायधिवक्ता सुर बहादुर परियारले अपराधिक क्षेत्रमा प्रविधिको प्रयोगबारे जनचेतना जगाउँदै साइबर अपराध गरेपछि कहिल्यै नमेट्ने स्पष्ट पार्नुभयो । उहाँले साइबर अपराध र जोखिम, आपराधिक क्षेत्रमा प्रविधिको प्रयोग, अपराध जगतमा देखिएका केही नयाँ आयाम, प्रविधिको प्रयोगले बढेका अपराध, अनलाइनमा अपराधीको उपस्थिति, अपराध अनुसन्धानमा देखिएका नवीनतम चुनौती, अपराध अनुसन्धान र प्रविधिको प्रयोग, विद्युतीय कारोबार ऐन, २०६३ ले निर्धारण गरेको सजाय र भक्तपुरको जिल्ला सरकारी वकिल कार्यालयको तथ्यांकबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा कानुन अध्ययन समाज नेपालका उपाध्यक्ष एवम् ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले समाजमा दुष्कृतिका कारण हुने अपराध र त्यसबाट भोग्नुपर्ने दण्ड सजायबारे स्पष्ट पार्दै सामान्य रुपमा सोचेका क्रियाकलापभित्र दुष्कृति लुकेकाले मुलुकी देवानी संहिताको अध्ययन गर्न जोड दिनुभयो ।
आयोजक समितिको संयोजक विष्णुकुमार प्रजापतिले साइबर अपराध हुने कारण र समाधानका उपायबारे स्पष्ट पार्दै प्रविधिकै कारण महत्वपूर्ण कार्य सम्पन्न हुने र दुरुपयोग हुँदा सामाजिक विकृति विसंगतिले ठाउँ पाएको बताउनुभयो ।
कार्यक्रममा विकास प्रजापति, बालकृष्ण प्रजापति, सत्यनारायण साँयजू, जयराम कोजू, जितेन्द्र ज्याख्वलगायतले बोल्नुभएको थियो ।