विस्का जात्रा अन्तर्गत भोलि लिंगो उठाउने तयारी हुँदै
भक्तपुर, चैत्र ३० गते
९ दिन ८ रातको ऐतिहासिक विस्का जात्रा अन्तर्गत भोली लिगो उठाउने पर्वको तयारी तिव्र पार्नुका साथै गत चैत्र २८ गते भैलखः क्वहं बिज्यागु अर्थात तल्ल विराजमान गराउँदा भएको क्षतिको मर्मत भइ रहेको छ । तौमढीबाट गःहिटीसम्म पुर्याउने ऐतिहासिक पर्वलाई वंशगोपालसम्म ओहोर दोहर गर्दा बिग्रेको भैलखःको मर्मत कार्य भइरहेको हो । भोलि दिउँसो ३ बजे देखि भैलख र नकिंजू खः तानेर योसिंख्यसम्म पुर्यापछि ५५ हातको लिंगो उठाउने परम्परा रहेको छ । सो परम्परा धान्न गुठी संस्थान भक्तपुरको सहयोगमा स्थानीय जनताको सक्रियतामा सम्पूर्ण तयारी पूरा गरेको स्थानिय जात्रालु न्हुछेराम भेलेले जनाएको छ । यस वर्ष लिंगो उठाउन सजिलो होस् भन्नकालागि फलामको चलासि बनाएको छ । गत वर्षको भन्दा मजभूत किसिमको चलासि बनेको उहाँले बताए । लिंगो ढाल्न पनि थप चलासि बनाउनु पर्ने भए पनि सामुदायिक वन क्षेत्रबाट रुख कात्न नदिएपछि पर्याप्त चालासि बनाउन समेत नपाएको पनि बताएका छन् । लिंगो उठाउन फलामको चलासिं ठिक भए पनि ढाल्नलाई काठको चलासि उपयुक्त हुने उहाँले बताएका छन् । राम्रो चलासि प्रयोग गरियो भने लिंगो २।४ वर्षसम्म बच्ने उल्लेख गर्दै गत वर्ष उठाएको लिंगो चर्केकाले काम नलाग्ने भएपछि यस वर्ष २ वटा नयाँ लिंगो ल्याएको बताउँदै उहाँले भूसको बोरामाथि यस वर्ष पनि लिंगो ढाल्ने तयारी भएको बताउका छनु । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा यस वर्ष नयाँ चलासि बनेपछि सजिलै लिगो उठान सकिने गरी तयारी भएको उहाँले बताएका हुन् ।


यसै बीच भक्तपुर नगरपालिकाले योसिंख्य क्षेत्रमा आज विशेष सरसफाई आयोजना गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहित जनप्रतिनिधीहरु, कर्मचारी एवं नगरवासीहरुको विशेष सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरेको हो । हरेक १५ दिनको फरकमा सरसफाई कार्यक्रम गर्दै आएको भक्तपुर नगरपालिकाले आज चैत्र ३० गते विशेष सरसफाई कार्यक्रम आयोजना गरी योसिंख्यमा भोलिबाट हुने विस्का जात्राकालागि विशेष सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
यसै बीच तालाक्वक्षेत्रमा भोलि विहान हात नभएको लिंगो उठाउने चालन रहेको छ । यो लिंगो बैसाख ५ गते विस्का जात्रा सम्पन्न भएसँगै ढाल्ने चलन छ भने यता योसिंख्यमा भोलि वर्षको अन्तिम दिन उठाउने लिंगो नयाँ वर्षको पहिलो दिन बैसाख १ गते विधिपूर्वक ढाल्ने चलन रहेको छ । सो लिंगो ढालेपछि विस्क जात्रा अन्तर्गत स्थानीय जात्रा पर्व तथा घर घरमा भोज भटेर गरी पाहुना सत्कार गर्ने नेवार समुदायको परम्परा रहि आएको छ ।














