गाईजात्रा व्यवस्थापनका लागि स्वयम्सेवक परिचालन हुने
२०७७ साउन १९ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा व्यबस्थापनका लागि भक्तपुर नपा वडा नं. १ देखि १० का स्वयम्सेवक इन्चार्ज बैठक सम्पन्न भयो । बैठकले गाईजात्रामा भिडभाड कम गर्न सबैले आ–आप्mनो क्षेत्रबाट भूमिका खेल्ने निर्णय ग¥यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले गाईजात्रामा पनि धेरै व्यक्तिहरुको भीड हुन नदिन स्वयम्सेवकहरु क्रियाशील भएर परिचालित हुनुपर्ने बताउनुभयो ।

जनैपूर्णिमाको दिनदेखि एक हप्तासम्म हुने गाईजात्रामा प्रदर्शन गरिने घिन्ताङघिसी र सांस्कृतिक विधाका प्रदर्शनीलाई समुदायस्तरबाटै नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै प्रमुख प्रजापतिले अधिकांश मृतक परिवार र नगरबासीहरु घिन्ताङघिसी नलाने पक्षमा रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गाईजात्राको दिनमा सरसफाईमा विशेष ध्यान दिंदै नगरका मुख्य मुख्य सडक र गल्लीहरुमा क्लोरिन पानी छर्कने, जात्रा हेरालुहरुलाई मास्क प्रयोग गर्न उत्साहित गर्ने र वडाका ठाउँ–ठाउँमा साबुन पानीले हात धुने व्यवस्था भक्तपुर नगरपालिकाले गर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित स्वयम्सेवक इन्चार्जहरुले गाईजात्रा व्यवस्थापनबारे टोल–टोलको अवस्थाबारे जानकार गराउनुहुँदै कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणको लागि वडास्तरबाटै विभिन्न दाफा समूह तथा वडाबासीहरुको भेला गरी घिन्ताङघिसी, दाफा भजनहरु नलान अभिप्रेरित गरिरहेको, सापारु पर्वमा भीडभाड नगर्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।














