नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न

नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न
कात्तिक २६, केके मानन्धर ।
भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा सम्पन्न भएको बाँसुरी बाजा प्रतियोगितामा लोकन्थलीको सिद्धिगणेश दाफा भजन खल: प्रथम भएको छ । योसँगै भजन खल:लाई प्रमाणपत्र तथा नगद ५० हजार पुरस्कार दिइएको छ । प्रतियोगितामा वडा नं। ५ को झीगु बाँसुरी खल: दोस्रो तथा वडा नं। ४ को सिवा सायमि खल: तेस्रो भएका छन् । दोस्रो र तेस्रो भएका समूहलाई क्रमश: २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र हस्तान्तरण गरिएको छ । १० वटा बाँसुरी समूहले सहभागिता जनाएको कार्यक्रममा वडा नं। ७ नगदेशस्थित नेवा: ऐतिहासिक बाँसुरी खल:लाई सान्त्वना पुरस्कारसँगै नगद १० हजार दिइएको छ ।


नृत्यनाथ बाँसुरी खल: त्वागा: टोलले पहिलो पटक बाँसुरी बाजा प्रतियोगिता सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बाँसुरी बाजा प्रतियोगिता सम्पन्न गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रम आयोजना गर्ने उद्घोष गरेका छन् । विगतका समयमा नगरपालिका अन्तर्गत वडा नं। ४ ले उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता सम्पन्न गरेको जानकारी दिंदै आगामी दिनमा बाँसुरी बाजा, मौलिक बाजाको रुपमा रहेको दाफा, लोपोन्मुख नौ बाजा लगायतका विभिन्न बाजा संरक्षणमा नगरपालिकाले नेतृत्व गर्ने बताए । उहाँले हराइ सकेको थिमिको क्वलाखु र बोडेको दाफा भजनलाई स्थानिय स्तरको पहलमा पुन: सुरु गरिएको समेत उल्लेख गरे । हुनपनि लोपोन्मुख बाजाको सुचीमा सुचिकृत नौ बाजाका विषयमा नयाँ पुस्तालाई जानकारी छैन । त्यसो भएर पनि मौलिक बाजालाई संरक्षण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको तर्क रहेको छ । कार्यक्रम आयोजक संस्थाका व्यवस्थापक योगेन्द्रकुमार दुवालको सभापतित्वमा सम्पन्न भएको बाजा प्रतियोगितालाई जयकृष्ण दुवालले सञ्चालन गरेका हुन् । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, वडा नं। ७ या वडाध्यक्ष तथा बौद्ध विद्वान कृष्णकुमार प्रजापति, नृत्यनाथ बाँसुरी खल: त्वागा: टोलका सल्लाहकार कृष्णबहादुर घजु, विभिन्न बाजाका गुरुहरु, संस्कृतिप्रेमी तथा कलाकारहरुको सहभागिता थियो ।