पक्राउ परेका पत्रकारहरुको निःशर्त रिहाईको माग
मध्यपुर थिमी, भक्तपुर, भाद्र २०गते
रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्राको समाचार संकलनका लागि बिहिबार पुलचोक पुगेका मध्यपुर थिमीका दुई जना पत्रकारहरु समेत पक्राउमा परेपछि रिहाइको माग हुन थालेको छ । कोरोना भाइरस संक्रमणको बीच रथ तान्नेक्रममा जात्रालु र प्रहरी बीच दोहारो झडपको रिर्पोटिगमा रहेका श्याम था र निरज बाडेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउमा परेका श्याम था स्वतन्त्रय सञ्चारग्राम साप्ताहिक र निरज बाडे टिभी टुडेमा आवद्ध पत्रकार रहेका छन् । तिनीहरुको निःशर्त रिहा गर्न निषेधाज्ञाको समयमा मध्यपुर थिमीबासीहरुले सामाजिक सञ्जालबाट माग गरेका छन् । सो झड्प पछि ललितपुर महानगरपालिका क्षेत्रमा कफ्र्यू लगाएको थियो । कफ्र्यू थपेर भाद्र २६ गतेसम्म कायम गरेको उल्लेख गर्दै ललितपुर मंगलबजारका शान्तराज शाक्यले सरकारले ५० औं लाख खर्च गरेर मच्छिन्द्रनाथको रथ बनाउन दिएर पनि बेलैमा जात्रा ब्यवस्थापन सम्बन्धि जानकारी र जिम्मेबारी नलिदा अप्रिय घटना हुन पुगेको बताए । सो झडपले केही स्थानीयबासिन्दाहरु समेत घाईते भएको जनाउँदै सो घटना पछि लागु भएको कफ्र्यूको समयमा समेत प्रदर्शनी उत्रेको भनि सुरक्षाकर्मीहरुले केही ब्यक्तिहरुको घर घर पुगेर प्रक्राउ गर्न थालेको पनि जनाए ।

त्यसमध्ये मध्यपुर थिमीका यी दुई पत्रकारहरुको रिहाईको माग गर्न थालेको छ ।
मध्यपुुर थिमी सञ्चार समाजले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ति पत्रकारहरु बारे सामाजिक सञ्जालमा भ्रामक प्रचार प्रसार गरी प्रोपगण्डा समेत मचाई रहेकाले त्यस्ता नकारात्मक समाचारहरुलाई रोक्न आग्रह गरेका छन् । समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठ र सचिव सुमन श्रेष्ठद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा पनि पक्राउ परेका पत्रकारहरुको रिहाइको जोरदार माग गरिएको छ ।














