राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै

राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै
देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको शुरुवात गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता बृद्धी हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ र केन्द्र क्रमश: आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको छ ।

केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताउनु भयो । यही असोज २६ गते शुक्रवारका दिन भएको कलेजो प्रत्यारोपणमा भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथमले सघाएका थिए । काठमाण्डौ जिल्लाका ६२ बर्षिय सासुलाई उनकी ३७ वर्षिया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन । अंगदाता र ग्रहणकर्ता दुबैको स्वास्थ्य सामान्य हुँदै गएको छ ।

कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको यस केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मृगौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ ।
केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउन समते अनुरोध गरेको छ ।