सूचना तथा प्रविधिका आविष्कारहरू विस्मयकारी र मानव जातिको बौद्धिक शक्तिको उदाहरण

सूचना तथा प्रविधिका आविष्कारहरू विस्मयकारी र मानव जातिको बौद्धिक शक्तिको उदाहरण
भक्तपुर । २०८० असोज २५ गते, बुधबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको तीन दिने “कम्प्यूटर, विद्युत, सञ्चार प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२३” को आज एक भव्य कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेँले सूचना तथा प्रविधिका नयाँ नयाँ आविष्कारहरू विस्मयकारी र मानव जातिको बौद्धिक शक्तिको उदाहरण भए पनि सबै आविष्कारहरू मानव जगतको हितको निम्ति मात्र नभई संहारकका रूपमा पनि उपयोग हुँदै गएको बताउनुभयो ।

कृत्रिम बौदिकताको बढ्दै गरेको चमत्कारिक सम्भावित सफलताको नकारात्मक परिणामहरूबारे सधै“ चिन्तनमनन जरुरी रहेको बताउँदै उहाँले आधुनिक अविष्कार, कम्प्युटर, विद्युतीय स्वचालित सामान र सूचना प्रविधिको निम्ति गरिने छलफल कृत्रिम बौद्धिकताबाट हुने सकारात्मक र नकारात्मक परिणामतर्फ पनि केन्द्रित हुनु आवश्यक भएको बताउनुभयो ।
उहाँले कृत्रिम बौद्धिकताबाट निम्तिने नकारात्मक परिणामलाई नियन्त्रण वा निस्तेज पार्ने विषयहरूमा समेत सम्मेलनमा सहभागीहरूको चासो र चिन्तन हुनु समयको निम्ति समीचीन हुने आशा व्यक्त गर्नुभयो ।
इन्टरनेट, कम्प्युटर, विद्युतीय सामग्रीहरू एवं नवसञ्चार व्यवस्थाको कारण संसारले व्यवहार र विचारमा एक गाउ“ र परिवारको रूप लि“दै गइरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले कम्प्युटर, मोबाइल तथा इन्टरनेटको उपलब्धताले हरेक क्षणका घटनाका समाचारहरू र जानकारीहरू तत्कालै पाउने सुविधा प्राप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सञ्चार र प्रविधिको कारण कोरोना–कालको हाहाकारको समयमा अभौतिक रूपमा भएका अन्तर्राष्ट्रिय सेमिनार, सम्मेलन र जानकारीहरूको आदान प्रदान एवं छलफलहरूबाट विज्ञान र प्रविधिको नया“ युगको प्रत्यक्ष अनुभव गर्न पायौं ।’
कार्यक्रमका सभापतित्व ग्रहण गर्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकासमा अगाडि बढेको देश आर्थिक र साँस्कृतिक रुपमा पनि अगाडि बढ्ने बताउँदै उहाँले प्रजग कोरिया, क्यूवालगायत समाजवादी देशहरुले नयाँ नयाँ प्रविधि व्यापक जनताको हित र देशको सम्बृद्धीको लागि प्रयोग गर्दै अगाडि बढिरहेको उदाहरणहरु प्रस्तुत गर्नुभयो ।
सं.रा. अमेरिकाले कमजोर र अल्पविकसित देशहरुलाई नयाँ नयाँ प्रविधिको प्रयोग गरेर आफ्नो नियन्त्रणमा राख्ने अपराध गर्दै आइरहेको बताउँदै उहाँले व्यक्ति, राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पनि प्रविधिको विकासले ठूलो प्रभाव पारिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले हरेक वर्ष सयौंको संख्यामा प्राविधिक जनशक्ति उत्पादन गरिरहेको बताउँदै यी कलेजहरूबाट उत्पादित दक्ष जनशक्तिहरूकै सहयोगले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सयौं सम्पदाहरू मौलिक शैलीमा पुन:निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएको अवगत गराउनुभयो ।
विश्वविद्यालयहरू नयाँ नयाँ विषयको खोज अनुसन्धानको केन्द्र हुनुपर्छ भन्नेमा हाम्रो जोड रहँदै आएको छ, उहाँले भन्नुभयो, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अध्ययन तथा अनुसन्धानको लागि बजेटको निश्चित अंक विनियोजन गर्दै आएका छौं । विद्यार्थीहरूको सीप विकासको लागि विद्यार्थी उद्यमशीलता विकास कोष खडा गरी अध्ययनरत विद्यार्थीहरुलाई दक्ष बनाउन सहयोग गर्दै आएका छौं ।
बागमति प्रदेशसभा सदस्य मा. सुरेन्द्रराज गोसाईले अन्तर्राष्ट्रिय सम्मेलनले कलेजको अन्वेषण र नवीनताको यात्रालाई कोशेढुंगा सावित गर्नेमा विश्वस्त रहेको बताउँदै सम्मेलन अवधिभर नेपाली विद्यार्थीहरु प्राध्यापक र विदेशी पाहुनाबीच हुने अन्तरक्रिया र अनुभव आदानप्रदान फलदायी र ज्ञानबद्र्धन हुने बताउनुभयो ।
उहाँले विज्ञान र प्रविधिमा भइरहेको दूत प्रगतिले थुप्रै सम्भावना र अवसरको लागि ठाउँ प्रष्ट गरेको बताउँदै कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र सञ्चार प्रविधिको विकासले व्यक्तिगत जीवनशैली र सिंगो मानव समाजलाई नै उच्च तहमा पुर्‍याएको बताउनुभयो ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्यका साथ भक्तपुर नपाले शिक्षालाई निरन्तर प्राथमिकतामा राख्दै आइरहेको बताउँदै अनुसन्धानमा आधारित शिक्षण प्रविधिले सभ्य र सुसंस्कृत समाज निर्माणमा विशेष टेवा पुर्‍याउने बताउनुभयो ।
आईसीटीबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाले समाज परिवर्तनको लागि रचनात्मक निष्कर्ष प्राप्त हुने विश्वास व्यक्त गर्दै यस किसिमको सम्मेलनहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिँदै लानुपर्ने बताउनुभयो ।
नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पद्मबहादुर शाहीले सम्मेलन पूर्ण सफलताको कामना गर्दै विश्वविद्यालय सञ्चालनको लागि यस किसिमको अन्तर्राष्ट्रिय सम्मेलन उपयुक्त प्लेटफर्म भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत विजयकुमार शर्माले शिक्षण र सिकाइको लागि उपयुक्त मञ्चको रुपमा यो सम्मेलनलाई ग्रहण गर्नुपर्ने बताउँदै समाजको दिगो विकासमा पनि यसले टेवा पुर्याउने बताउनुभयो ।
उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षकद्वय रीना मानन्धर र नवराज बुढाथोकीले पनि बोल्नुभएको थियो ।
२०२३ अक्टोबर ११ देखि १३ सम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनका मुख्य वक्ताको रुपमा बेलायतका डा. डिजामिला एमिमर, दक्षिण कोरियाका प्रो.डा. किम हियोन ताई, नर्वेका प्रो.डा. एफ. गोन्जालेज, लंगेट, भारतका डा. आसिस खन्ना र भारतका किशोर तनिकेल्ला रहेका छन् । सम्मेलनमा बंगलादेश, भारत, जापान, पाकिस्तान, दक्षिण कोरिया, चीन, बेलायत, नर्वे र नेपाल गरी ९ वटा देशका सहभागी र प्रस्तुतकर्ताहरु रहेका छन् । आजको सम्मेलनमा २ जना मुख्य वक्ता रहेका छन् भने ३६ वटा कार्यपत्र प्रस्तुत गरिने कलेजका प्राचार्य सुजन माकले जानकारी दिनुभयो ।