राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु
भक्तपुर, असोज १९ गते
भक्तपुरमा राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा आदर्श आजाद मावि भिमसेन स्थानमा आयोजित सो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमति प्रदेश सदस्य सुरेन्द्रराज गोसाई र नेपाल क्रान्तिकारी युवा संघका अध्यक्ष मिनबहादुर बाटाले बुद्धिचाल खेलको गोटि चालेर खेलको उद्घाटन गरेका हुन ।


मुलुकभरका १२ वटा जिल्लाका १ सय ४४ जना स्थानीय देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडिहरुको सहभागितामा सो प्रतियोगिता आयोजना भएको आयोजक समितिका प्रतियोगिता संयोजक राजकुमार लघुले जनाएको छ ।
प्रतियोगिता आज र भोलि सम्म हुने उहाँले बताए । विजयता खेलाडीहरुलाई रु.१५, रु१० र रु.५ हजार तथा रु २ हजार नगद सहितको पुरस्कारको व्यवस्था गरेको लघुले बताए ।
उद्घाटन सत्रमा प्रमुख अतिथी गोसाईले युवाहरुलाई राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता रक्षाकालागि लड्ने भावना जगाउन बुद्धिचाल खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक तथा रणनैतिक परिदृष्यमा खेलाउनुपर्नेमा जोड दिएका थिए । नेक्रायुसंघका अध्यक्ष मिनबहादुर बाटाको सभपतित्वमा भएको सो कार्यक्रममा आदर्श आजाद माविका प्रधानाध्यापक श्रीकृष्ण किसी, आयोजक समितिका राजकुमार लघु, अन्तराष्ट्रिय रेफ्रि निराजन प्रजापति, हरी सुन्दर सुवाल सहितका अतिथीहरुले बुद्धिचाल खेलको महत्व बारे चर्चा गर्दै बुद्धिचाल खेलका नियमहरु बारे जानकारी दिएका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई शनिबार साँझ पुरस्कार वितरण गर्ने आयोजकहरुको तयारी छ ।















