अनुदानको मलका लागि कृषकहरुद्वारा काठमाण्डौमा जुलुस र सभा आयोजना
काठमाण्डौ, जेष्ठ १२ गते
रोपाईको समय नजिकिएसँगै किसानहरुले अनुदानको मल समयमै पाउन सरकारसँग माग गर्दै आज काठमाण्डौमा जुलुस तथा सभा आयोजना गरेको छ । नेमकिपाको भातृसंगठन नेपाल क्रान्तिकारी किसान संघले आयोजना गरेको सो जुलुस र सभाले कृषि उत्पदान बढाउन, देशलाई आत्मनिर्भर बनाउन सरकारको ध्यानाकर्षण गराउँदै नक्कली भुटानी शरनार्थी प्रकरणका दोषिलाई कार्वाहीको माग समेत गरेको छ ।
रत्नपार्ककाबाट सुरु भएको जुलुस कमलादी, भोटाहिटी, असन, न्यूरोड हुँदै पुनः रत्न पार्कमा पुगेर सभामा परिनत गरेको थियो ।

सभामा बोल्दै नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले अनुदानको मल कृषकहरुलाई समयमै पुर्याइदिन माग गर्नु भयो । सांसदमा कृषकका कुरा उठ्ने गरे पनि सरकारले कृषकका समस्याहरु नहेर्ने गरेका कुराउखु कृषक, मिटर व्याज पीडितहरु आन्दोलनबाट पनि पुष्टि हुने चर्चा गर्दै प्रतिनिधी सभामा जितेर आएका सांसदहरु आआफ्नो गाउँ वस्तीमै नबसेसम्म र काठमाण्डौमा घर बनाउने होड चलेसम्म जनताको समस्या नसुध्रिने धारणा राख्नु भयो । सांसद सुवालले भन्नु भयो, प्रतिनिधी सभामा जनताबाट जितेर आएका २७५ सांसदहरु मध्ये १११ जनाको काठमाण्डौमै घर छ, सांसदहरु जनताहरुकै बीचमा हुनुपर्छ आफ्नो ठाउँको विकासमा लाग्नुपर्छ सांसद सुवालले जोड दिनु भयो । देशको नदी नाला भारतलाई बेचेर देश विकास हुँदैन । प्रधान मन्त्रीले निकत भविष्यमा गर्ने भारत भ्रमणबाट कोसि, गण्डकी, महाकाली सन्धि खारेज गराउन सक्नुपर्छ । विद्युतबाट यातायात देखि घरको चुलो समेत बाल्न सक्ने बनाउनुपर्छ सांसद सुवालले जोड दिनु भयोे ।
काठक्रममा नेक्राकिसंघका गोविन्द्र दुवाल, नेमकिपाका केन्द्रीय सदस्य नरवहादुर शाही, नारायण महर्जन, राजबीर डंगोल सहितले देशको समसामयिक राजनैतिक परिवेशका बेठितिहरुको समीक्षा गर्दै कृषकहरुलाई अनुदानको रासायनिक मल उपलब्ध गराउन माग गरेका थिए ।














